समाचार
वालिङ नगरपालिकाद्धारा प्रथम चौमासिकको सार्वजानिक सुनुवाई
रेडियो आँधीखोला
वालिङ, १९ मंसिर ।
वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकको सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । नगरले चालु आर्थिक वर्षको यो चार महिनाको अवधिमा प्रवाह गरेका सेवा सुविधा, कार्य प्रगतिलगायतका विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले सोमबार वालिङ ४ एलादीमा सार्वजानिक सुनुवाई गरेको हो । सार्वजानिक सुनुवाईमा नागरिकहरुले नगरबाट प्रवाह भएका सेवाको प्रशंसा गरेका थिए भने अनुदान वितरण गर्दा पहुँचको आधारमा भएको भन्दै गुनासो पनि व्यक्त गरे ।
कार्यक्रममा कक्षा १ देखि ५ सम्म दिईने दिवा खाजाका लागी १५ रुपैँया प्रर्याप्त नभएको र १८० दिनको मात्रै खाजा दिईने गर्दा यसले थप समस्या पारेको बताउँदै कक्षा १२ पास गरेपछि विदेश जानुपर्ने भन्ने बालमनोविज्ञानको विकास भईरहेकाले यस्ता गलत मनोविज्ञान हटाउन सचेतनामुलक अभियान चलाउनुपर्ने समेत शिक्षकहरुको जोड थियो ।
साथै नगरले टुक्रे योजना भन्दा दिर्घकालिन योजना बनाउनुपर्ने भन्दै साना साना योजनाहरुले विकासको अनुभुति हुन नसकेको नागरिकहरुको गुनासो थियो । त्यस्तै कृषकहरुले बाँदर, मृगलगायतका वन्यजन्तुका कारण कृषक समस्यामा परेको भन्दै ग्रामिण क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको सहज बजारीकरणमा नगरले चासो दिनुपर्ने उनीहरुको माग थियो ।
कार्यक्रममा नागरिकहरुको जिज्ञासा सम्बोधन गर्दै नगरप्रमुख कृष्ण खांणले नागरिकको जिवनलाई सहज तथा सरल बनाउनका लागी नै जनप्रतिनिधिलाई निर्वाचित गरेर पठाउनुभएको भन्दै आफ्ना गुनासा र समस्या ढुक्क भएर राख्न आग्रह गर्नुभयो । नगरपालिकाले विस्तारै देखिने काम गरेको भन्दै शिक्षा, स्वास्थ्यमा क्रमश फड्को मार्ने क्रममा रहेको भन्दै नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन घरघरमा नम्बर प्लेट टाँस्ने, शैक्षिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धाका माध्यमबाट प्रअ नियुक्ति गर्ने, विद्यार्थी संख्या कम भएकालाई पायक पर्ने ठाउँमा विद्यालय गाभ्नेजस्ता कार्यहरुको शुरुवात गरेको नगरप्रमुख खांणले बताउनुभयो । वालिङमा सुविधा सम्पन्न बसपार्क निर्माण गरी पर्यटकीय डेक्सहरु राख्ने र पोखरा तथा लुम्बिनी हिड्ने पर्यटकहरुलाई वालिङ बास बस्ने वातावरण निर्माण गर्ने भन्दै ग्रामिण होमिस्टेहरुको उचित संरक्षण तथा संर्वद्धन गर्ने नगरप्रमुख खांणले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले वालिङ नगरपालिकाले कृषि तथा पशुपालनमा ८ करोड रकम छुट्याएको भन्दै खेतियोग्य जमिन र बाँझो जमिनको वर्गिकरण गरी सोहि अनुसार निति लिएर अगाडि बढ्ने बताउनुभयो । खेतियोग्य जमिन बाँझिने क्रम बढेको भन्दै नगरपालिकाले त्यस्ता जग्गा लिएर कृषि गर्ने व्यक्तिलाई दिने र जग्गाधनिलाई राजस्वमा छुटलगायत कृषिमा सहुलियत दिने उपप्रमुख तिवारीको भनाई छ । साथै उपप्रमुख तिवारीले वालिङले महिलामैत्रि बजेट ल्याएको भन्दै महिलाहरुलाई नेतृत्वदायी भुमिकामा ल्याउनका लागी उपभोक्ता समिति टोल समितिहरुमा महिलाहरुलाई अगाडि सारिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले चालू आर्थिक वर्षको साउन देखि हालसम्म नगरपालिकाका विभिन्न साखाबाट सम्पादन भएका क्रियाकलापका विषयमा प्रकाश पार्नुभएको थियो । १ अर्ब ८ करोड ८९ लाख यथार्थ बजेटमा १७ करोड ४४ लाख अर्थात १६.५५ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत शर्माले जानकारी गराउनुभयो । नगरमा वडा तथा नगरस्तरीय गरी जम्मा ५५४ योजनामा लागत अनुमान तयार भएका ५१, सम्झौता भएका योजना १०, भुक्तानी भएका २ र सम्झौता गर्न बाँकी ५४४ योजना रहेको उहाँले जानकारँी दिनुभयो ।
स्वास्थ्यतर्फ नर्सिङ तथा सामाजिक सुरक्षा महासाखा र वालिङबीचको दुई पक्षीय सम्झौता र अभिमुखीकरण कार्यक्रम गरिएको सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवाका लागी अभिमुखीकरण गरिएकोलगायतका कार्यप्रगतिका विषयमा समेत उहाँले जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन नगरपालिका प्रेस संयोजक मणिप्रसाद अर्यालले गर्नुभएको थियो ।