समाचार
पर्यटकीय संभावनाले भरिएको वालिङ ३ संभावनाको भने उजागर हुन सकेन
कला राना
वालिङ, ९ पौष ।
स्याङ्जाको वालिङ ३ पर्यटकीय संभावनाले भरिपुर्ण छ । कोटैकोटले भरिएको वडा नं. ३ मा पर्यटकीय संभावनाहरु प्रशस्तै भएपनि संभावनाको भने उजागर हुन सकेको देखिँदैन । त्यसो त होमिस्टे मार्फत पर्यटनको उजागर गर्न नखोजिएको होईन तर पनि बुढाकोट राम्चे होमिस्टे दर्ता भएर उचित रुपमा संचालन हुँन नसक्दा त्यहाँको पर्यटन ओझेलमा परेको छ । समुद्री सतहदेखि १७१५ मिटरमा रहेको बुढाकोटमा होमिस्टे, भ्युटावर पनि छन् । होमिस्टेमा आवश्यक पुर्वाधार, प्रयाप्त पानीको व्यवस्थापन गर्न नसक्दा त्यहाँको होमिस्टे ओझेलमा परेको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत रामबाच्छाबाट १२ किलोमिटर कच्ची ग्रामिण सडकबाट पुग्न सकिने माँझकोट जाँदै गर्दा बाटोमा देखिने हृमसृंखलाहरु, विहानीपख ढपक्कै वालिङ बजारलाई कुहिरोले ढाकेको दृष्यले जोकोहिलाई पनि आर्कषित गर्छ । वडा कार्यालय रहेको माँझकोटमा सम्म परेको भु–भाग र त्यहाँबाट देखिने हिमसृंखलाहरु देख्दा त्यहाँ पर्यटनको संभावना छ भन्ने जोकोहिलाई पनि लाग्ने गर्छ ।
माँझकोट पुग्नुभएका नेपाल पत्रकार महासंघका स्याङ्जाका पुर्व सचिव तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुलीले माँझकोटमा होमिस्टे मार्फत पर्यटकलाई आर्कषण गर्न सकिने बताउनुहुन्छ । स्याङ्जामा धेरै होमिस्टेहरु रहेपनि माँझकोटमा फरकपना देखिएको भन्दैे त्यहाँको होमिस्टेलाई प्रर्वद्धन गर्न सकियो भने त्यहाँका स्थानीयको जिविका माथि उठ्ने पत्रकार पराजुलीले बताउनुभयो ।
बुढाकोटबाट ९ जिल्लाहरु देखिन्छ भने अन्नपुर्ण, माछापुच्छे्र, धौलागिरीलगायतका हिमसृंखलाहरु देख्न सकिन्छ । वडा नं. ३ मा सिंगारकोट, माँझकोट, बुढाकोटहरु जस्ता नामाकरण गरिएका बस्तीहरु छन् । कुनै समयमा भएका एक कार्यक्रममा बुढापाका मात्रै भेला भएकाले त्यहाँको नामाकरण बुढाकोट गरिएको भन्ने जनकथन रहेको वडा अध्यक्ष भिमबहादुर गुरुङ बताउनुहुन्छ । वडा अध्यक्ष गुरुङले भन्नुभयो, “वडा नं. ३ मा पर्यटन, कृषिको संभावनाहरु निकै छ तर युवा दक्ष जनशक्ति बजार पलायन हुँदा भएको होमिस्टे सञ्चालन गर्न पनि समस्या छ ।”
वडा नं. ३ मा ३४२ घर मध्ये ३८ घरले बसाँईसराई लगिसकेका छन् भने कुल जनसंख्या २ हजार ८७५ मध्येको ३० प्रतिशत मात्रै अहिले गाउँमा बस्दै आएका छन् भने बाँकी ७० प्रतिशत रोजगारी, अध्ययन, व्यवसायलगायतको शिलशिलामा पोखरा, रामबाच्छा, बुटवल, काठमाडौ बस्दै आएका छन् । गुरुङ समुदायको बाक्लो वस्ती रहेको वडा नं. ३ मा गुरुङ रितिरिवाज, भेषभुषा पनि त्यहाँको थप आर्कषणको केन्द्रविन्दु हो ।
वडा नं. ३ मा मुख्य बाली कोदो र मकै हो भने तल्लो भेगमा सुन्तलाखेति पनि हुँदै आएको छ । आफ्नो बाँकी कार्यकालमा बुढाकोट होमिस्टेमा भौतिक पुर्वाधार निर्माण गरी पर्यटक बस्न मिल्ने बनाउने, हिउँदको समयमा पानीको समस्या देखिएकाले पानीको मुहानको उचित संरक्षण गरी प्रर्याप्त पानीको व्यवस्थापन, कृषि उत्पादकत्वमा वृद्धि गर्ने गाउँमै बस्ने वातावरण सृजना गर्ने योजना वडा अध्यक्ष गुरुङको छ ।
वडा नं. ३ मा ९८ प्रतिशत गुरुङ समुदायको बसोबास छ । मेलिनियम ट्रयाक अन्र्तगत तनहुँको ढोरफेँदि, स्याङ्जाको पेल्काचौर, मनकामना हुँदै बुढाकोट पनि पर्ने भएकाले पर्यटनको थप संभावना रहेकाले पनि पर्यटनको लागी थप पुर्वाधार निर्माण गर्न नगरपालिका, प्रदेश र संघिय सरकारसमक्ष अनुरोध गरिने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।