समाचार
भीरकोटमा बालबालिकासंग मेयर कार्यक्रम शुरु
रेडियो आँधीखोला
वालिङ, १३ पौष ।
भीरकोट नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम शुरु भएको छ । बालमैत्रि नगर भीरकोटमा बालबालिकाको समस्या बुझ्न र समाधान गर्न बालबालिकासंग मेयर कार्यक्रम गरिएको हो । वडा नं. ९ बाट शुरु भएको कार्यक्रम अन्र्तगत ठुली भञ्याङ मावि, पिपलडांडा मावि, सिर्कोट मावि गरी ३ वडामा बालबालिकासंग मेयर कार्यक्रम शुरु भएको हो । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बालमैत्रि नगर भीरकोटमा कोहि पनि बालबालिका आफ्ना अधिकारबाट वञ्चित नहोउन भन्दै यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
साथै प्रमुख खांणले बालबालिकामाथि हुने हिंसा, बालविवाह जस्ता समस्याहरुको बारेमा जानकारी दिने तथा बालबालिकालाई सहज वातावरणमा पठनपाठनको व्यवस्थापन गर्दै बालमैत्रि नगर कार्यान्वयनलाई अगाडि बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, वडा नंं १ का वडा अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा नं. ९ का अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच भीरकोट ९ मा दलित समुदायको लागी कुखुराका चल्लावितरण गरिएको छ । दलित समुदायको आयआर्जनमा टेवा पुगोस भन्ने हेतुले प्रत्येक परिवारलाई १० ओटाका दरले गिरिराज जातको कोईलर कुखुराको चल्ला वितरण गरिएको हो । वडा नंंं. ९ का ११७ घरपरिवारलाई चल्ला वितरण गरिएको हो । कार्यक्रममा नगरप्रमुख कर्माचार्यले दलित तथा विपन्न परिवारको आयस्रोतमा वृद्धि गरी जिवनयापन सहज बनाउनका लागी चल्ला वितरण गरिएको भन्दै यस कार्यक्रमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।