समाचार
स्याङ्जामा दोस्रो आँधिखोला महोत्सव शुरु
रेडियो आँधीखोला
वालिङ, २० पौष ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मेला महोत्सवले जिल्लाका कला, संस्कृति र उत्पादनको प्रवद्धृन र बजारीकरणमा सहयोग पुग्ने बताउनु भएको छ । च्याम्बर अफ कमर्श स्याङजाले दोस्रो आँधिखोला महोत्सवको आज उदघाटन गर्दै नगरप्रमुख रेग्मीले उद्योग वाणिज्य संघ र च्याबर अफ कमर्शसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
यहाँ उत्पादित सुन्तला, कफी, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गर्दै आयआर्जनमा जोड्न सहयोग पुग्ने गरी गरिएका महोत्सवले उदेश्य बमोजिममा कार्य गर्न समेत सुझाव दिनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्या, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य किसन सुनुवार, पुतलीबजारका पूर्व प्रमुख सीमा क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले उपसचिव तारा शर्मा, नेकपा माओवादी नगर अध्यक्ष नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बसन्त पंगेनीलगायतले बोल्नुभएको थियो ।
महोत्सवबाट आम्दानीभएको रकम सामाजिक उत्तरदायीत्व अन्तरगत समाजसेवामा खर्च गरिने च्याम्बरका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । उहाँले घरेलु तथा साना उद्योगहरु प्रबद्र्धन गर्न आवश्यक प्रविधि हस्तान्तरण गर्न महोत्सवले टेवा पु¥याउने विश्वास लिनुभएको छ । महोत्सवमा ४५ लाख आम्दानी गर्ने र ३६ लाख खर्च गरी ९ लाख बचत हुने आयोगकको अनुमान रहेको छ । कमर्सले ‘कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधिखोला अभियान’भन्ने नारा सहित महोत्सवको आयोजना गरेको हो । च्याम्बरका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न उद्दघाटन समारोहमा संचालन, महासचिव रिखीराम पौडेल, धन्यवाद उद्योग वाणिज्य संधका अध्यक्ष रविन्द्र श्रेष्ठ, स्वागत च्याम्बरका उपाध्यक्ष श्री गुरुङले गर्नुभएको थियो ।
कमर्सले स्थानीय उत्पादनको प्रवर्द्धन तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मेला आयोजना गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा कृषि तथा पशुपंक्षी, वस्तु तथा सेवाको प्रर्दशनी, स्थानीय उत्पादनलगायतका विभिन्न किसिमका स्टलहरु राखिएको छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक मनोरञ्जन प्रदान गर्नेछन् ।