समाचार
दर्शकहरुद्वारा वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन
रेडियो आँधीखोला
वालिङ, २५ माघ ।
२०६३ सालदेखि वालिङ खेलमैदानमा महोत्सव सञ्चालन गर्दै आएको वालिङ उद्योग वाणिज्य संघले कोरोना महामारी र देशभर छाएको आर्थिक शिथिलताका कारण अलमल गरिरहेको थियो । २०७५ सम्म सातौं संस्करण सम्पन्न गरेको संघले आर्थिक चलायमानसँगै वालिङको शानलाई उजागर गर्न महोत्सवले खेलेको भूमिकालाई मध्येनजर गरेर आठौं महोत्सव सञ्चालनमा अगाडि बढ्यो । आठौं वालिङ महोत्सव सञ्चालनका सन्दर्भमा कहिले कार्यक्रम स्थल त कहिले प्रतिकूल समयलगायतका विषयले अलमल पारेको थियो ।
अलमल र केही विवादका वावजुद पनि संघले महोत्सव आयोजना गर्ने निधो ग¥यो । फलस्वरुप यही माघ १८ देखि आठौं वालिङ महोत्सव २०८० सुरु भयो । सुरु भैसकेपछि पनि महोत्सव सफल, असफलका चर्चा चलिरहे । यिनै चर्चा र विवादका बीच वालिङको शानलाई उजागर गर्नुपर्छ भनेर यहाँका नागरिकहरुद्वारा वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन गरेका छन् । दैनिकरुपमा उनीहरुको उत्साहजनक उपस्थितिले वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन गरेका पुष्टी गराएको छ ।
त्यस्तै आज बुधबार रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, सम्झना लामिछाने मगर, माया गुरुङ, उमादेवि खनाल, पिन्स लम्सालको प्रस्तुतिले दर्शकलाई निकै मनोरञ्जन प्रदान गरेको थियो भने हास्यतर्फ सागर लम्साल बले र नृत्यकार सृजना गुरुङले आफ्ना प्रस्तुति राख्नुभएको थियो ।
त्यस्तै भोली रमेश राज भट्राई, पुर्णकला विसि, चोलेन्द्र पौडेल,गोपाल जिटि, सिता परियार, इन्द्रा गुरुङ, गोविन्द रिजालको प्रस्तुति रहनेछ भने पुर्खे बाको हाँस्यव्यंग्य प्रस्तुति रहनेछ भने नृत्यकार सृष्टि विकको प्रस्तुति रहनेछ ।
महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुको प्रस्तुतिकासाथै स्थानीय प्रतिभा प्रस्फुटन हुने भएपछि महोत्सवले आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।