समाचार
वालिङ ११ छतिवनमा जीप दुर्घटना हुँदा ९ जना घाईते
रेडिया आँधीखोला,
वालिङ १० चैत्र ।
वालिङ ११ को छतिवन स्थित भित्रि सडकमा जीप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । वालिङबाट धनपुरे तर्फ जाँदै गरेको ग. २ च. ७४७९ नं.को बलेरो जिप ब्रेक फेल भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा चालक सहित ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । घाईते मध्ये ४ जनाको वालिङ स्थित गह्रौँ प्राथामिक अस्पतालमा उपचार भईरहेको छ भने अन्य ५ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको प्रनाउ रानाले बताउनुभयो ।
वालिङमा उपचार हुनेहरुमा चालक वालिङ ११ ज्वानखोलाका ४१ वर्षीय ज्ञान प्रसाद पंगेनी, वालिङ १० का ३२ वर्षीय सुकमाया सुन्धौली, सुकमाया सुन्धौलीको छोरा १३ वर्षीय संगम सुन्धौली, वालिङ ११ छतिवनका १९ वर्षीय नम्रता खत्री रहेका छन् । त्यस्तै वालिङ ११ छतिवनका ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट ५ की ३० वर्षीय विन्दु खवास, वालिङ ११ ज्वानखोलाकी ३६ वर्षीय हुमकला पंगेनी र वालिङ ११ भकभकाकी १७ वर्षीय करिना खवासलाई पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । पोखरा रिफर गरिएका घाईतेहरुको खुट्टा र टाउकोमा चोकट लागेको प्रहरीले जनाएको छ ।