समाचार
जनशक्ति बचत तथा ऋण सहकारीद्वारा भित्तेपात्रो सार्वजनिक
रेडियो आँधीखोला
वालिङ, २८ चैत ।
स्याङ्जाको वालिङमा रहेको एक सहकारी संस्थाले वार्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । वालिङ नगरपालिका वडा नम्वर १३ पाठखोलामा रहेको जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले नयाँवर्ष २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।
भित्तेपात्रो विमोचन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले नगरभित्र रहेका सहकारीहरुमध्ये जनशक्ति बचत तथा ऋण सहकारी संस्था पनि एक आशा लाग्दो सहकारी रहेको बताउनुभयो । स्थापनाको दशकको दौरानमा रहेको सहकारीले स्थानीयस्तरमा सर्वसाधारणलाई वित्तीय सेवामा सहजता ल्याएर शेयर सदस्यहरुको मन जीत्न सफल रहेको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । नयाँवर्ष २०८१ ले सामाजिक हिंसालगायत विकृति र विसङ्गति हटाएर सुसंस्कृत समाज निर्माणमा सफलता मिलोस भन्दै नगरबासीहरुमा शुभकामना व्यक्त गर्नुभयो । सुसंस्कृत समाज निर्माणमा राजनीति र नेताहरुमा पनि अनुशासन र इमान्दारिता आवस्यक हुन्छ । उहाँले भन्नुभयो “सबैभन्दा पहिला राजनीति र नेताहरु सुध्रिन जरुरी छ, यसो हुनसक्यो भने हामीले चाहेको र खोजेको समाज परिवर्तन सम्भव छ ।”
२०७० सालमा स्थापना भएको सहकारीमा २ सय ५० जना शेयर सदस्य रहेका छन् । नगरपालिकाको १३ नम्वर वडासँगै आशपासका क्षेत्रमा छरिएर रहेका पूँजीलाई एकत्रित गर्दै यो संस्थाले वित्तीय सेवा दिंदै आएको छ ।