समाचार
दोस्रो गल्याङ ट्यालेन्ट शो
रेडियो आँधीखोला,
वालिङ २७ बैसाख ।
गल्याङ नगरपालिकाले विद्यार्थी केन्द्रीत गल्याङ ट्यालेण्ट शो कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले दोश्रो पटक गल्याङ ट्यालेण्ट शो कार्यक्रम विहीबार सुरु गरेको हो । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।
शुक्रबारसम्म चल्ने प्रतियोगिताबाट विद्यार्थीहरुमा भएको क्षमताको उजागर हुने नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । विहिबार गरिएको उद्घाटन कार्यक्रममा उहाँले सबै ठाउँका विद्यालयलाई समेटेर प्रतियोगिता सञ्चालन गरिएको भन्दै कार्यक्रमलाई सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम अन्तर्गत विहिबार पहिलो दिन एकल पठन सिप प्रतियोगिता नेपाली र अंग्रेजी कक्षा ३–५ , चित्रकला प्रतियोगिता कक्षा ४–८ र हस्तलेखन प्रतियोगिता नेपाली कक्षा ३–५ प्रतियोगिता सम्पन्न भएका छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले विभिन्न ९ विधामा ट्यालेण्ट शो प्रतियोगिता भैरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा एकल पठन सिप प्रतियोगिता नेपाली, एकल पठन सिप प्रतियोगिता अंग्रेजी, हस्तलेखन प्रतियोगिता नेपाली, हस्तलेखन प्रतियोगिता अंग्रेजी, चित्रकला प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, कविता लेखन प्रतियोगिता, एकल हाजिरिजवाफ प्रतियोगिता र एकल गायन प्रतियोगिता समाबेश गरिएको छ ।
हस्तलेखन नेपाली र चित्रकला प्रतियोगिता भानुभक्त माध्यमिक विद्यालयको आधारभूत शाखामा तल्लो गल्याङमा हुने र अंग्रेजी हस्तलेखन प्रतियोगिता भानुभक्त मावि माथिल्लो गल्याङमा भएको छ । बाँकी सबै प्रतियोगिता गल्याङ नगपालिकाको सिटी हलमा सञ्चालन भैरहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।