समाचार
कालीगण्डकी स्टिम्मरमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने
कला राना,
वालिङ १० जेष्ठ ।
स्याङ्जाको कालीगण्डकीमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको आयोजना र गण्डकी प्रदेश बुद्धिचाल संघ कास्कीको व्यवस्थापनमा यही जेष्ठ १२ र १३ गते प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता कालीगण्डकीको स्टिम्मरमा हुने आयोजनले जनाएको छ । विहिबार वालिङमा प्रतियोगिताको तयारीका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष खिम थापाले धार्मिक महत्वको कालीगण्डकी र ऐतिहासिक जलयातायात स्टिम्मर सेवाको संरक्षण तथा संर्वद्धनमा यो प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
देशकैै पहिलो जलयातायत स्टिम्मर सेवाको विषेश महत्व रहेको भन्दै यो महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पु¥याउन यो प्रतियोगिता कोशे ढुंगा सावित हुने उहाँको विश्वास छ । प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता कालीगण्डकीमा गर्न पाउनु आँफैमा महत्वपुर्ण रहेको भन्दै अध्यक्ष थापाले भन्नुभयो, “कालीगण्डकीले खेल क्षेत्रको विकासका लागी धेरै लगानी गरेको छ । भौतिक विकाससंगै खेलको विकासले पनि पर्यटनको विकास गर्न सकिने ध्येयले हामी खेल क्षेत्रमा पनि सक्रिय छौँ ।”
कालीगण्डकीमा धार्मिक पर्यटकहरु आईरहने भएपनि पछिल्लो समय शैक्षिक, स्वास्थ्य र खेलका पर्यटकहरु पनि आउने अपेक्षा व्यक्त गर्दै गण्डकी प्रदेशकै दुरदराजमा रहेको पालिकामा प्रतियोगिता हुनु वास्तवमै महत्वको विषय भएको अध्यक्ष थापाले बताउनुभयो । कालीगण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न पनि सक्षम रहेको भन्दै पालिकाले खेल तथा खेलाडिको विकासका लागी खुलेर लगानी गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले प्रतियोगिता ¥यापिड रेटिङ सिस्टममा खेलाईने बताउँदै प्रतियोगितामा ११ जिल्लाका ४ जनाका दरले र आयोजक कालीगण्डकीका ४ गरी ४८ प्रतियागिले प्रतिस्पर्धा गर्ने बताउनुभयो । प्रतियोगितामा हरेक जिल्लाबाट महिला पुरुष दुईदुई जनाका दरले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले महिला पुरुषतर्फ समान ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा बाहिरी जिल्लाका खेलाडिलाई यातायातको सुविधा, दैनिक भत्ता प्राप्त गर्नेछन् । त्यस्तै विजेतालाई देशभरीका प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाडि जिल्लाबाट छनोट भएर आउनेछन् भने कालीगण्डकीमा यसअघि आयोजित अध्यक्ष कपमा गरिएको बद्धिचाल प्रतियोगिताका विजेता उपविजेताले प्रतिष्पर्धा गर्नेछन् । अध्यक्ष कपमा गरिएको बुद्धिचालमा फरक क्षमता भएका विवके पाण्डे विजेता बनेका थिए । कालीगण्डकीमा पर्यटनको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको हो ।
बुद्धिचालमा बुद्धिको अत्याधिक प्रयोग हुने भएकाले यो खेलले बौद्धिक क्षमतको विकास गर्ने स्मरण शक्तिको विकास गर्ने आयोजकले जनाएका छन् । अल्जाईमर रोगको निवारणलाई समेत यो खेलले सहयोग गर्ने जनाईएको छ । कार्यक्रम बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रेस चौतारीका अध्यक्ष शुसिल सुवेदीले गर्नुभएको थियो । प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाले ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदले ३ लाख गरी ६ लाख खर्च गर्नेछ ।