समाचार
लागुऔषध विरूद्धको अन्तराष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम सहित मनाईयो
वालिङ, १२ असार ।
स्याङजामा लागुऔषध विरूद्धको अन्तराष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम सहित मनाइएको छ । औषध दुरूपयोग एवं ओसारपसार बिरूद्धको अन्तराष्ट्रिय दिवस हरेक जुन २६ तारिखमा मनाईदै आईएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पनि दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाएको हो । यही असार ६ गतेदेखि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी दिवस मनाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सहित वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोटमा साप्ताहिक लागुऔषध बिरूद्धको सचेतनामूलक कार्यक्रम सुरूवात गरिएकोमा आज समापन गरिएको हो । सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाको शान्ती सुरक्षा कायम राख्न प्रहरी, प्रशासनसंगै सरोकारवालाहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
समापनका अवसरमा आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहलमा योग प्रशिक्षण समेत गरिएको छ । यो सप्ताहव्यी कार्यक्रममा जिल्लाका बिभिन्न बिद्यालयहरूमा १९ पटक र समुदायमा २९ पटक गरी जम्मा ४८ वटा लागुऔषध विरूद्धको सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रमबाट २ हजार ६९७ जना जना लाभान्वित भएका छन् । यस्ता सचेतनामुलक कार्यक्रममा जिल्लामा लागुऔषध ओसार–पसार तथा सेवनलाई नियन्त्रण तथा न्यूनिकरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । उत्पादनशील र श्रृजनशील युवा जनशक्ति लागुऔषधको दलदलमा नफसी समाज तथा देश निर्माण कार्यमा अगाडि बढ्ने प्रहरी कार्यालयको अपेक्षा छ ।