समाचार
पुर्व सभापति सम्झदै स्याङ्जा काँग्रेस
रेडियो आँधीखोला
वालिङ, ३ साउन ।
नेपाली काँग्रेस स्याङ्जाले पुर्व सभापतिहरुको सम्झनामा विविध कार्यक्रम गर्ने भएको छ । काँग्रेसका संस्थापक नेता विश्वश्वर कोइराला, स्याङ्जाका पुर्व सभापति खगेन्द्रराज रेग्मी र पुर्व सभापति कमलप्रसाद पंगेनीको सम्झनामा विविध कार्यक्रम गर्ने भएको हो । नेपाली काँग्रेस स्याङ्जाको आज बसेको बैठकले पुर्व सभापतिहरुको सम्झनामा रचनात्मक कार्यक्रम गर्ने निर्णय गरिएको कार्यबहाक सभापति केदार काफ्लेले जानकारी दिनुभयो ।
साउन ६ गते काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसमा जिल्लाका ११ ओटै पालिकामा बृक्षारोपण र बिचार गोष्ठि आयोजना गरिने कार्यबहाक सभापति काफ्लेले बताउनुभयो । वीपीको सम्झनामा जिल्लाभर कार्यकर्तालाई आ—आफ्ना पालिकामा हुने बृक्षारोपरण, विचार गोष्ठि र रचनात्मक कार्यक्रममा सहभागी हुन आव्हान गरिएको सभापति काफ्लेले बताउनुभयो । कार्यबहाक सभापति काफ्लेका अनुसार पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मीको नाममा स्याङ्जा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरिने निर्णय भएको बताउनुभयो ।
पुर्व पार्टी सभापति तथा पुर्व सांसद कमलप्रसाद पंगेनीको छैठौं बार्षिक स्मृतिमा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गर्ने तयारी गरिएको छ । पुर्व सभापति पंगेनीको २०७५ साउन २० गते निधन भएको थियो । जिल्ला काँग्रेसको संगठकका रुपमा पहिचान बनाएका पंगेनीको स्मृतिमा रक्तदान कार्यक्रम सहित धार्मिक स्थल रामनदीधाममा लाखबत्ती बाल्ने र धार्मिक कार्यक्रम गरिने सभापति काफ्लेले बताउनुभयो । पुर्व सभापति पंगेनीको शालिक राख्ने कार्यलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति र कमल पंगेनी प्रतिष्ठानले संयुक्तरुपमा अगाडी बढाउने निर्णय गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
हालसालै नवगठित सरकारमा सहभागी भएका काँग्रेसका मन्त्रीहरुलाई बधाई समेत दिएको छ । नेपाली जनताको आशा र भरोसा अनुसारनै काँग्रेस—एमाले सहितका दलहरु मिलेर बनेको सरकारले नेपाल र नेपाली जनताको भावना अनुरुप काम गर्न सुझाव दिदै स्याङ्जा काँग्रेसले शुभकामना व्यक्त गरेको छ । यसैगरी असार २१ र २२ गते अविरल बर्षाका कारण आएको बाढी पहिराले पुराएको जनधनको क्षतीप्रति गहिरो दुख व्यक्त गरेको छ ।
ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको कार्यबहाक सभापति काफ्लेले बताउनुभयो । यो दुखद घडीमा विपदमा परेका पिडितलाई तत्काल राहत र क्षतीपुर्तिको व्यवस्था गर्न र फेरी बाढी पहिरोको जोखिम जिल्लावासीले व्यहोर्न नपर्नेगरी उच्च सुरक्षाको व्यवस्था गर्न समेत बैठकले सरकारसगँ माग गरेको छ । यस्तो विपदमा काँग्रेसका कार्यकर्ताहरुलाई खटेर पिडितहरुलाई सहयोग गर्न स्याङ्जा काँग्रेसले आग्रह गरेको छ । साथै बाढी पहिरोको जोखिममा परेका नागरिकहरुको उद्धार कार्यमा खटिने सम्बन्धीत सम्पुर्णमा कृतज्ञता ज्ञापन गरेको छ ।