समाचार
कालीगण्डकीको महायज्ञमा समाजसेवी शर्माद्धारा ५ लाख सहयोग प्रदान
वालिङ, २९ मंसिर ।
मिर्मि बहुमुखी क्याम्पसद्धारा सञ्चालित श्रीमद भागवत ज्ञान महायज्ञमा समाजसेवी डोलराज शर्माले नगद ५ लाख ११ हजार १११ नगद सहयोग प्रदान गर्नुभएको छ । वालिङ ८ काफलडाँडा जन्मस्थान भई हाल काठमाडौँमा बस्दै आउनुभएका शर्माद्धारा प्राप्त रकम शनिबार गह्रौँशुर धार्मिक पर्यटकीय स्थलका कोषाध्यक्ष केशभक्त गुरुङले महायज्ञ स्थलमा पुगेर हस्तान्तरण गर्नुभएको हो । समाजसेवी शर्माले यहाँको शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नं ७, मिर्मी स्थित मिर्मी बहुमुखी क्याम्पसमा ‘स्याङ्जा आलमदेवी, शिला शालिग्राम शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ यही मंसिर २२ गतेबाट संचालन गरिएको थियो । शनिबार सम्पन्न भएको महायज्ञमा पण्डित दिनबन्धु पाख्रेलले कथा वाचन गर्नुभएको थियो । क्याम्पसको स्तर उन्नतीको महायज्ञको आयोजना गरिएको हो ।
यसैबीच नेपाली काँग्रेसका नेता एवं व्यवसायी शेषकान्त पुरीले चापाकोट नगरपालिका ८ मा रहेको राधाकृष्ण मन्दिर तथा वृद्धाआश्रमलाई व्यक्तिगत एक लाख एक हजार सहयोग गर्नुभएको छ । चापाकोट नगरपालिका ८ खोरियाघाटमा सञ्चालन भइरहेको श्रीमद्धागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा शनिबार सहभागी भई उहाँले उक्त रकम सहयोग गर्नुभएको हो ।
उहाँ व्यवसाय सँगसँगै सामाजिक गतिविधिमा समेत सक्रिय भएर लागिरहनुभएको छ । चापाकोट नगरपालिका ८ खोरियाघाटमा अवस्थित श्री निम्बार्क निकुञ्ज राधाकृष्ण मन्दिर तथा वृद्धाआश्रम सहयोगर्थ २२ गतेदेखि सुरु भएको श्रीमद्धागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ भोलि (आइतबार) समापन हुँदैछ ।