समाचार
वालिङमा प्रथम सिटि महोत्सव हुँदै
रेडियो आँधीखोला
वालिङ, ९ माघ ।
वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म वालिङ्मा प्रथम वालिङ् सिटि महोत्सव – २०८१ गर्ने भएको छ । कमर्सले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको मिति सार्वजनिक गर्दै यसका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वालिङ् चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले ‘सम्पन्न समाज समृद्ध वालिङ’ भन्ने मूल नाराका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
महोत्सवले वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवं संस्कृतिको जगेर्ना हुने अपेक्षा रहेको संयोजक न्यौपानेले बताउनुभयो । वालिङको सभ्यता र यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै यस महोत्सव नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने संयोजक न्यौपानेले जानकारी दिनुभयो । महोत्सवले मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउने जमर्को गर्ने संस्थाका महासचिव गणेश राउतले बताउनुभयो ।
महोत्सवले कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्न आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा विदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै हस्तकलाका सामानहरु व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिएको बताउनुभयो ।
महोत्सवमा कृषि प्रदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विभिन्न उद्योगबाट उत्पादित दैनिक उपभोग्य एवं खाद्यान्न सामान, कस्मेटिक तथा श्रृंगारका सामान, फेन्सी एवं कपडा, फर्निचर, विद्युतीय उपकरणहरु, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रविधिलगायतका २०० स्टलहरु रहनेछन् ।
महोत्सवमा ६६ लाख आम्दानी गर्ने र ६ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सव २ लाख दर्शकहरुकले अवलोकन गर्ने आयोजकको दाबी छ । ५ वर्ष पहिले स्थापना भएको चेम्बर अफ कमर्स वालिङले आफ्ना व्यवसायी व्यापारीको हकहितलाई मध्यनजर गर्दै महोत्सवको आयोजना गरिएको आयोजकको दावी छ । यही पुसमा दोस्रो अधिवेसन गरेको चेम्बरले आफ्ना गतिविधिलाई चलायमान बनाउँदै स्थानीय कृषि उत्पादनलाई जोड दिँदै महोत्सवको आयोजना गरेको आयोजकले जनाएका छन् ।
स्थानीय व्यापारीलाई प्रोत्साहन गर्नका लागी निश्चित प्रतिशत छुटमा यहीँका व्यापारी व्यवसायीहरुलाई महोत्सवमा सहभागि बनाईने चेम्बरले जनाएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, निर्वतमान अध्यक्ष तथा प्रदेश सदस्य श्रीकृष्ण सिग्देललगायतका पत्रकारहरुले महोत्सवले यहाँका स्थानीय उपजलाई बजारीकरणमा सहयोग गर्दै यहाँका व्यापारी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव राख्नुभएको थियो । कार्यक्रम अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष पुष्पा अर्याल र संचालन महासचिव गणेश राउतले गर्नुभएको थियो ।