समाचार
अर्जुनचौपारीमा आगलागी, लाखौंको क्षति
वालिङ, १० माघ ।
अर्जुनचौपारी गाउँपालिका–५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गोठका चौपायाहरुलाई कुँडो पकाउने क्रममा आगलागी भएको हो । आगलागीमा परी एउटा भैंसी, एउटा भैंसीको पाडो, दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय सूर्यप्रसाद पौडेलको दुईतले जस्ताको छानो भएको गोठमा रहेका चौपायाहरुमा क्षति पुगेको र अन्दाजी २० भारी पराल जलेर नष्ट हुँदा करिब आठ लाख रुपियाँ बराबरको क्षति भएको पौडेलले बताउनुभयो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।