समाचार
सहकारीमा सुशासन प्रविधि र एकिकरण समसामयिक विषयमा अन्र्तक्रिया
वालिङ, १७ माघ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको आयोजनामा सहकारीमा सुशासन प्रविधि र एकिकरण समसामयिक विषयमा अन्र्तक्रिया कार्यक्रम तथा सुझाव संकलन भीरकोट नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा संघका जिल्ला सल्लाहकार अनन्तकुमार श्रेष्ठले हालै नेपालमा सरकारले सहकारीको विषयमा ल्याएको अध्याधेशलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका सकरात्मक र नकरात्मक पक्षहरुको विश्लेषण गर्न चार समूहमा विभाजित सहकारीहरुको निचोड प्रस्तुत गर्दै तत्काल सुधारको लागी सुझाव पेश गर्ने निचोड प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीबाट आउनुभएका ५५ जनाको सहभागिता थियो । कार्यक्रममा ऋद्धिसिद्धि बचत तथा ऋण सहकारीका सचिव शान्ता थापा, उपकार साकोसका अध्यक्ष यमकान्त खनाल, भुपुसैनिक साकोसका अध्यक्ष लोकबहादुर केसी, लक्ष्मी साकोसका अध्यक्ष खुमकान्त खनाललगायतका प्रतिनिधिहरुले आ–आफ्ना धारण राख्नुभएको अन्र्तक्रिया कार्यक्रमले १३ बुँदामा सुझाव तयार गरि राष्ट्र बैंकलाई पठाउने निर्णय गरेको छ । कार्यक्रम संघका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।