अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

स्याङ्जामा एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण

 
रेडियो आँधीखोला
वालिङ, १७ माघ ।
स्याङ्जामा विहिबार एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाको आयोजनामा स्वास्थ्य कार्यालयको सभाहलमा जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागी अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरुबीच अन्र्तक्रिया गोष्ठी गरिएको हो । गोष्ठीमा यही माघ २२ गतेदेखि सञ्चालन गरिने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप सम्बन्धी जानकारी गराईएको थियो । देशैभरी यही माघ २२ गतेदेखि फाल्गुन ६ गतेसम्म सञ्चालन गरिने खोप अभियान स्याङ्जामा यही माघ २७ गतेसम्म खोप लगाइँदैछ । 
उक्त कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सर, यसका लक्षण, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपीभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमि साथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो । 
 
 
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान अन्र्तगत स्याङ्जाका ११ वटै स्थानीय तहमा खोप लगाइँदैछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिईँदैछ । स्याङ्जाका ११ स्थानीय तहमा कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने किशोरी गरी १० देखि १४ वर्ष उमेर समूहका गरी ९ हजार ३१९ जनाले यो खोप लगाउँदैछन् ।  जिल्ला स्वास्थय कार्यालय स्याङ्जाका अनुसार विद्यालय जाने ९ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना गरी ९ हजार ३१९ जनाले यो खोप लगाउनेछन् । यहाँ सबैभन्दा धेरै वालिङमा १ हजार ९८० जनाले खोप लगाउँदैछन भने सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जनाले खोप लगाउँदैछन् । 
 
जिल्लाका ३१९ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपिभी खोप लगाइँदैछ  ।  लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुलाई परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा र अन्त्यमा यहाँका स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रोग लागेर लाखौँ खर्च गरेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उपयुक्त भएको भन्दै खोप अभियानलाई सफल बनाउन सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताउनुभयो । 
 
क्यान्सरको उपचार निकै महंगो भएकाले महिलाहरुले प्रत्येक ३ वर्षमा पाठेघरको मुखको स्क्रिनिङ गर्नुपर्ने  बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले क्यान्सर लाग्यो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै रोगसंग डराउन भन्दा समय समयमा परिक्षण गरी नियमित उपचार गर्दा राम्रो हुने बताउनुभयो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटिको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मनिषकुमार महतोले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...