समाचार
जनप्रिय आधारभूत विद्यालयलाई समाजसेवी शर्मा द्वारा आर्थिक सहयोग प्रदान
वालिङ, २१ माघ ।
वालिङ नगरपालिका वडा नम्बर १२ धनमुडामा रहेको जनप्रिय आधारभूत विद्यालयलाई समाजसेवी डोलराज शर्मा पंगेनीले २ लाख ५० हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयको स्वर्ण जयन्ति (स्वर्ण महोत्सव) कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै शर्माले स्वघोषणा गर्नुभएको हो । उद्धोगपती एवं ब्यावसायी समेत रहनुभएका शर्माले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ।
विद्यालयलाई विभिन्न खेल्कुदका सामग्री हस्तान्तरण गर्दै उहाँले आमा समुहलाई ५० हजार रुपैयाँ समेत दिने बताउनुभयो । विद्यालयको लागि अन्य सहयोग गर्न समेत आफूँ तयार रहेको बताउदै सामाजिक सेवा गर्न पाउँदा आफुलाई खुसिलागेको र समाज विकासको लागि सबैले आ–आफ्नो ठाँउबाट निस्वार्थ भावले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । शर्माले गह्रौसुरमा रहेको गह्रौसुर मन्दिरको विकासका लागि लामो समय देखि सहयोग गर्दै आउनुभएको छ ।
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत दुर्गा न्यौपाने, पूर्व शिक्षक चण्डिप्रसाद पाठक, एकनारायण गैह्रे, विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य पंडित नेत्रप्रसाद पराजुली, भूपुविद्यार्थी मञ्चका सचिव नेत्रप्रसाद गैह्रे, जनपत्रकार संगठनका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगायतले बोल्नुभएको थियो।
कार्यक्रममा विद्यालयकी प्रअ खगिसरा गौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम पराजुलीले विद्यालयको समग्र अवस्थाका बारेमा बताउनुभएको थियो । विद्यालयका पूर्व शिक्षकलाई सम्मानका सथै विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम २२ गते सम्पन्न गरिने विद्यलयले जनाएको छ ।