समाचार
सुख्खायाममा आगोलागीका घटनाहरु हुन सक्ने भएकाले सचेत हुन प्रशासनको अनुरोध
रेडियो आँधीखोला
वालिङ, १ फागुन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुख्खायाममा आगोलागीका घटनाहरु हुन सक्ने भएकाले सचेत हुन अनुरोध गरेको छ । सुख्खायाम शुरु भएसंगै स्याङ्जामा पनि आगोलागीका घटनाहरु देखा पर्न थालेको भन्दै यस्ता घटनाहरु नहुँनका लागी सावधानी र सर्तकता अपनाउन अनुरोध गरेको हो । आगोलागीबाट मानवीय, पशुपंक्षी, वातावरणीय, तथा समग्र जैविक विविधतामा ठुलो हानी नोक्सानी पुग्ने हुँदा यो कानुनी दृष्टिकोणले आपराधिक कार्य भएकाले आगोलागी जन्य क्रियाकलापहरु नियन्त्रण गर्न तथा गराउनका लागी सहयोग गर्न जिल्लाबासीलाई अनुरोध गरिएको हो ।
घरमा आगो, बत्ती,लाईटर, ग्यास, विद्युत आदी प्रज्वलनशील वस्तुहरुको सावधानीपुर्वक प्रयोग गर्ने तथा केटाकेटीको पहुँचबाट टाढा राख्ने, सुख्खा मौसममा हावाहुरीका कारण आगो अनियन्त्रित हुन सक्ने भएकाले सुख्खा यामको अवधिभर खेतबारी निजी वनलगायत कुनै पनि स्थानमा आगोनबाल्ने, घरगोठमा कुँडो पकाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस्तै चुरोट विडि खाएर जथाभावी नफाल्ने, सबै सामुदायिक वनले आफ्नो क्षेत्रमा अग्निरेखा निर्माण गर्ने, पातपतिङगर, स्याउला, झारपात जम्मा गरी सावधानीपुर्वक जलाउने आफ्नो क्षेत्रमा आगोलागी भएमा सामुदायिक वन नै जवाफदेहि हुने भनिएको छ ।
साथै जिल्लाका सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र आगोलागी नियन्त्रणको सूचना सञ्चार माध्यमबाट व्यापक रुपमा सम्प्रेषण गर्ने, सचेतनामुलक कार्यक्रम गर्ने, स्वयंसेवक दस्ता गठन गरी तयारी अवस्थामा राख्ने, दमकल वा बैकल्पिक अग्नी नियन्त्रक उपकरणको व्यवस्था गर्ने, पानीका स्रोतहरु पहिचान गरी पुर्ण तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
आगोलागी भैहालेमा नजिकैको सुरक्षा निकाय, स्थानीय निकायमा खबर गर्न भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा हस्ताक्षरित सूचनामा कसैले आगलागीजन्य कार्य गरे वा गराएको थाहा पाएमा सोको सूचना दिने व्यक्तिको विवरण गोप्य राखी उक्त व्यक्तिलाई पुरस्कार दिने तथा गलत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने उल्लेख गरिएको छ ।