समाचार
वालिङका बंगुर पालक किसानलाई जैविक सुरक्षा सम्बन्धी स्थलगत तालिम
वालिङ, ८ फागुन ।
वालिङ नगरभित्र व्यवसायिक बंगुर पालन गर्दै आएका किसानलाई लक्षित गर्दै जैविक सुरक्षा सम्बन्धी एक दिने स्थलगत तालिम नगरको सभाहलमा सम्पन्न गरिएको छ । नगरभित्र रहेका सक्रिय ३५ व्यवसायीक फर्म र ५ वटा समुह हरुलाई संक्रामक रोगहरूबाट कसरी बचाउने भन्ने विषयमा तालिम आयोजना गरिएको भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समय स्याङ्जाको केही बंगुर फर्ममा महामारीको रुपमा अफ्रिकन स्वाइन फिभर रोग देखिएपछि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको डा. श्रेष्ठको भनाई छ । जिल्लामा यही रोगको कारण झण्डै आधा दर्जन बंगुर मरेपछि यसको संक्रमण अन्यत्र हुन नदिन बंगुर पालक किसानलाई जैविक सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो ।
जिल्लाका बंगुर फर्मका किसानहरुलाई खोरेँत, स्वाइन फिभर, अफ्रिकन स्वाइन फिभर, आन्तरिक परजीवी र बाह्य परजीवी जस्ता रोगहरूले हैरानी बेहोर्नुपरेको किसानको गुनासो छ । हालसम्म अफ्रिकन स्वाइन फिभरको उपचार नभएको र प्रभावकारी खोप पनि विकसित भईनसकेको हुँदा रोकथाम नै उक्तम विकल्प रहेको वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन बस्यालले बताउनुभयो ।
बाहिर बाट असुरक्षित पाठापाठी र माउ ल्याउँदा यस्ता रोगहरु बंगुरले बोकेर आउने गरेको छन् । संक्रमित बंगुरहरुमा कडा ज्वरो आउने, खाना नखाने, बान्ता हुने, पखाला लाग्ने, शरीरभरि रातो धब्बा देखिने जस्ता लक्षण देखिएपछि नगरपालिकाको पशु शाखा वा भेटेरिनरी अस्पतालमा तत्काल खबर गर्न पशु चिकित्सकले अनुरोध गरेका छन् ।
संक्रामक रोगले बंगुरको उच्च मृत्यू दर रोकथाम गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिका स्तरीय कार्यक्रम संचालन गर्दै आएको छ । वालिङ नगरलाई बंगुरको मासु तथा पाठा पाठीमा आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । नगर प्रमुख खाँणले भन्नुभयो, “बाहिर बाट रोग बोकेर आउने बंगुर रोकथाम गर्दै यहीँको बंगुर लाई प्राथमिकतामा राख्ने नीति बनाउँदैछौँ । यसको लागि बंगुर पालक किसान उत्साहित भएर संख्या वृद्धि गर्नुहोस् , बाहिरको आयात नियन्त्रण हुन्छ ।”
वालिङ नगरभित्र बंगुर पालनमा सक्रिय किसानलाई व्यवसाय वृद्धि गर्न बिउ पुँजीको रुपमा आर्थिक सहयोग गर्न नगर तत्पर रहेको नगर उपप्रमुख कविता गैह्रेले बताउनुभयो । बंगुर पालक किसानको जोखिम कम गर्न इन्सुरेन्स कम्पनीले पनि सहकार्य गर्ने शिखर इन्सुरेन्स प्रवन्धक शंकर सुवेदीले बताउनुभयो ।