समाचार
वालिङमा रेविज देखिएका मृत जनावरहरु किनवेच गर्ने दुई जना पक्राउ
वालिङ, १५ फागुन ।
स्याङ्जाको वालिङ नगरपालिका ५ मा रेविजको लक्ष्यण देखिएका मृत जनावरहरु किनवेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वालिङ नगरपालिका ५ बस्ने ५५ वर्षीय राजेन्द्र बहादुर केसी र वालिङ नगरपालिका ८ बस्ने शंसुदिन मिया रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सोमबार दिउँसो राजेन्द्र बहादुर केसीले आफ्नै घरमा पालेका संङ्क्रामक रोग रेविजको लक्ष्यण देखिएका जनावरहरु भैसी, भैसीको पाडा, बाख्रा र बाख्राको पाठी एक एक वटा गरी जम्मा ४ वटा घरपालुवा जनावर वालिङ नगरपालिका ८ बस्ने ५० वर्षीय शंसुदिन मियाँलाई बिक्री गरेका थिए ।
मियाँले रोग लागेका जनावरहरु खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखि वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजादै गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीले फेला पारेको हो । सवारी साधनभित्र मृत भैसी एक, भैसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी एक बरामद गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।
मृतक भैसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोली आई किटद्धार परीक्षण गर्दा संक्रामक रोग रेविजको लक्ष्यण देखिएको पुष्टि हुन आएको थियो । प्रहरीले पक्राउ गरेको दुवै जनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।