समाचार
नौमती बाजा बजाउने तालिमको समापन, कपाल काट्ने तालिमको सुभारम्भ
रेडियो आँधीखोला
वालिङ, ६ चैत ।
भीरकोट नगरपालिका वडा नं. ६ मा नौमती बाजा बजाउने तालिमको समापन र कपाल काट्ने तालिमको सुभारम्भ गरिएको छ । वडा नं. ६ को सिमलचौरमा गरिएको तालिमलाई सम्बोधन गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नगरले नगरबासीलाई सिपयुक्त बनाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नका लागी वडा तह तथा नगरबाट विभिन्न खालका सिपमुलक तालिमहरु आयोजना गर्दै आईएको भन्दै यस्ता तालिमको सहि उपयोग गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
हाम्रा परम्परा र संस्कृतिसंग जोडिएको नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको हुँदा वडा नं. ६ ले यो तालिमको आयोजना गरि संस्कृति संरक्षणमा जोड दिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रसका नगर सभापति यामप्रसाद अधिकारी लक्ष्मण, नेकपा एमालेका नेता विश्वनाथ अर्याल, वालिङ नगरपालिका वडा नं. ११ का अध्यक्ष डण्ड पानी पंगेनी, पर्वत खाम्चा, मिनबहादुर केसी, हर्कबहादुर रोकाहा, लिला रेग्मी, अशोक खत्रि, तुलबहादुर रोकालगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्रिको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यपालिका सदस्य ओमकुमारी कोईरालाले गर्नुभएको थियो । वडा अध्यक्ष खत्रिले अनुसार युवालाई आफ्नै गाउँठाउँमा स्थापित गर्नका लागी सिपमुलक तालिमहरु सञ्चालन गरिएको भन्दै हातमा सिप भएको व्यक्ति बेरोजगार नहुँने बताउनुभयो ।