समाचार
सहकारीहरुलाई विवरण बुझाउन गल्याङको तेस्रो पटक ताकेता
रेडियो आँधीखोला
वालिङ, २८ चैत ।
स्याङ्जाको गल्याङ नगरपालिकाले सहकारीहरुलाई आफ्नो विवरण बुझाउन फेरि पनि ताकेता गरेको छ । गल्याङ नगरपालिकाले सूचना निकालेर नगरपालिका भित्रका सहकारीहरुलाई विवरण बुझाउन तेस्रो पटक ताकेता गरेको हो । गल्याङ नगरपालिकाले गएको पुस दुई गते पौष मसान्तभित्र सहकारी संस्थाहरुले साधारणसभा सम्पन्न गरि साधारणसभा सम्पन्न गरेको १५ दिन भित्र साधारणसभाबाट पारित प्रतिबेदन सहितको विवरण बुझाउन सूचना जारी गरेको थियो ।
तोकिएको समयमा अधिकांश सहकारीहरुले विवरण नबुझाएको भन्दै गल्याङ नगरपालिकाले गएको फागुन चार गते पनि सात दिनभित्र विवरण बुझाउन अर्को सूचना जारी गरेको थियो । दुई पटक सूचना जारी गरेपनि सहकारी संस्थाहरुले विवरण नबुझाएपछि बुधबार गल्याङ नगरपालिकाले तेस्रो पटक विवरण बुझाउन सूचना जारी गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्षोत्तम घिमिरेले जारी गर्नुभएको सूचनामा यसअघिको सूचनामा उल्लेख गरिएको ढाँचामा विवरण बुझाउन भनिएको छ ।
पुस २ गते नगरप्रमुख गुरुप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा सहकारीको प्रतिबेदनमा आर्थिक वर्ष २०८१÷८२ सम्मको कर चुक्ता गरेको व्यवसाय दर्ताको प्रतिलिपि, लेखा परिक्षण प्रतिबेदनको सक्कलै विवरण, सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी संघ संस्थालाई जारी गरेको निर्देशनका व्यवस्थाहरु पालना गरेको विवरण सहितका विवरण पेश गर्न भनिएको थियो ।
यस्तै, शेयर संख्या, रकम सहितको बचतकर्ता र ऋणिहरुको विवरण सूचना पाटीमा राख्ने र सोको प्रतिलिपि पनि नगरपालिकामा बुझाउन भनिएको थियो । यसैगरी प्रबन्धक वा व्यवस्थापन प्रमुखको विवरण, संचालक वा एकाघरका परिवारले लिएको ऋणको विवरण, प्रत्यक्ष रोजगारी संख्या, कोपोमिसमा आबद्धताबारे जानकारी समेत बुझाउन सूचनामा भनिएको छ ।