समाचार
गल्याङ्मा गल्याङ् आँधिखोला महोत्सव सुरु
रेडियो आँधीखोला
वालिङ, ४ वैशाख ।
गल्याङ नगरपालिका–३ स्थित खेलमैदानमा “कृषि, उद्योग र पर्यटनको साथ खेलमैदान निर्माणको अभियान” भन्ने मूल नाराका साथ गल्याङ आँधीखोला महोत्सव शुरु भएको छ । १५ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्दैै पुर्व मन्त्री धनराज गुरुङले स्थानीय रुपमा आयोजना गरिने मेलाले स्थानीय उपजको विक्रि वितरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
तल्लो गल्याङ खेलमैदान व्यवस्थापन समितिको आयोजनामा स्थानीय तह, विभिन्न संघसंस्था र व्यवसायिक क्षेत्रको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्देश्य स्थानीय कृषि, साना तथा घरेलु उद्योग, पर्यटन प्रवद्र्धन साथै खेलमैदानको पूर्वाधार निर्माण गर्नु रहेको मुल आयोजक समितिका अध्यक्ष पदम बहादुर गाहाले जानकारी दिनुभयो । महोत्सवमा वृद्ध, वृद्धा तथा अपाङ्ग व्यक्तिहरूको लागि प्रवेशमा निःशुल्क सेवा व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि तथा उद्योग प्रदर्शनी, स्थानीय उत्पादन र हस्तकला सामग्रीको बिक्री तथा प्रदर्शन, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, खेलकुद प्रतियोगिता, बालमैत्री कार्यक्रम लगायत विविध आकर्षण रहनेछन् । महोत्सवले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने, युवामा उद्यमशीलता र खेलप्रतिको रुचि बढाउने तथा गल्याङ क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । त्यस्तै, महोत्सवबाट संकलित रकम खेलमैदानको विकासमा खर्च गरिने जानकारी दिइएको छ ।