समाचार
वालिङमा हुने धार्मिक अनुष्ठानका लागि दान सङ्कलन हुन थाल्यो
वालिङ, १२ वैशाख ।
यही वैशाख १७ देखि स्याङ्जाको वालिङमा केदारनाथ शिवधाम निर्माणार्थ श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ हुँदैछ । राजमार्ग विस्तारसँगै मन्दिर संरक्षण, धर्मशाला निर्माण, तीर्थयात्री निवास, संस्कृत भाषा अनुसन्धान केन्द्र सञ्चालन (गुरुकूलम), क्रियापुत्री भवन निर्माण, अन्नक्षेत्र स्थापना एवम् आर्थिक सङ्कट मोचनलगायतका उद्देश्यले धार्मिक अनुष्ठान गर्न लागिएको हो । वालिङ खेलमैदानमा २३ गतेसम्म सञ्चालन हुने महायज्ञका लागि दाताहरुबाट दान प्राप्त हुन थालिसकेको छ । आयोजकका अनुसार अनुष्ठान सुरु हुनुभन्दा एकसाता अगाडि नगद रु. १० लाख सङ्कलन भैसकेको छ ।
अनुष्ठानका लागि नगद रु. १० लाख सङ्कलन भैसकेको महायज्ञका प्रमुख वाचक पण्डित नेत्र पराजुलीले जानकारी दिनुभएको छ । पण्डित पराजुलीका अनुसार दाताहरु अग्रिम दानका लागि सम्पर्कमा आउनेक्रम जारी रहेको छ । महायज्ञको तयारीका क्रममा विभिन्न मिडियाहरुबाट प्रचार प्रसार र पत्राचार गर्ने कार्य तीब्रताकासाथ भैरहेको छ । तण्डुलाचलका लागि झण्डै ५० मुरी चामल आवश्यक पर्दछ । महायज्ञमा हुने तण्डुलाचलका लागि भनेर विभिन्न महानुभावहरुबाट गरी ३ मुरी चामल सङ्कलन भैसकेको छ । आ—आफ्नो इच्छा र क्षमता अनुसार चामल प्रदान गर्न सकिने पण्डित पराजुलीले बताउनुभयो । यसैबाट अन्नक्षेत्र घोषणा गरिनेसमेत उहाँले जानकारी गराउनुभयो ।
महायज्ञमा वालिङ बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तेजप्रसाद काफ्लेलाई विशेष सम्मान गरिने भएको छ । यसैगरी विभिन्न क्षेत्रका जेष्ठ नागरिकहरुलाईसमेत सम्मान गरिने छ ।
यसकासाथै समाजमा रहेको आपसी भाइचारा, धार्मिक ऐक्यवद्धता, सहिष्णुता तथा धार्मिक एकताले समाज, क्षेत्र र राष्ट्रमा आध्यात्मिक चेतनाको स्तर बढाई मानव कल्याण हेतु (दिव्यानन्द) प्रदान गर्ने महायज्ञको लक्ष्य रहेको छ । राष्ट्रियतालाई मजवुत बनाउन आध्यात्मिक तत्वले मानव मानवबीचको सम्बन्ध गहन बनाई सकारात्मक सन्देश दिने अभिप्रायले अनुष्ठानको आयोजना गरिएको हो । यस पूण्य कार्यका उद्देश्य परिपूर्तिका लागि व्यक्तिगत, संस्थागतरुपमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण धर्मानुरागी महानुभावहरुलाई तन, मन वचन र धन दानगरी सेवा पाउने पावन मौका नगुमाउनुहुन आग्रह गरिएको छ ।
केदारनाथ शिवधाममा सञ्चालित गुरुकुलमका प्रशिक्षक ध्रुवशरण अर्याल मूल गणेश रहनुहुनेछ भने मुख्य कथा वाचन सोही गुरुकूलमका प्रशिक्षक पण्डित नेत्र पराजुलीले गर्नुहुनेछ । धार्मिक अनुष्ठान वालिङ ८ स्थित केदारनाथ मन्दिर शिवधाम मन्दिरको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा हुने भएको हो ।