समाचार
वरिष्ठ पत्रकार सुवेदी स्याङ्जामा सम्मानित
वालिङ, १२ वैशाख ।
स्याङ्जा पत्रकार समाज नेपालले नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार सालिक सुवेदीलाई स्याङ्जामा सम्मान गरेको छ। “समृद्ध स्याङ्जाका आधार ः संस्कृति, पर्यटन र पूर्वाधार” विषयक अन्तरक्रिया कार्यक्रम तथा क्यालेन्डर लोकार्पण कार्यक्रमको अवसरमा समाजका सल्लाहकार समेत रहेका सुवेदीलाई गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई,समाजका अध्यक्ष डा.बालकृष्ण चापागाईं,नगर उपप्रमुख हेमा न्यौपाने लगायतले दोसल्ला र करूवा सहित सम्मान गर्नुभएको हो।
सम्मानित पत्रकार सुवेदीले राजनीतिक पत्रकारिता भन्दा विकास पत्रकारितालाई प्राथमिकता दिन स्याङ्जाली पत्रकारहरूलाई आग्रह गर्नुभयो। विकास पत्रकारिताले समस्या समाधान गर्न, निष्पक्षता र सामाजिक न्याय स्थापित गर्न सहयोग गर्ने उहाँको धारणा छ। कलम र विचारमार्फत समाज रूपान्तरण गर्न, विविधता र बहुसंस्कृतिलाई सम्मान गर्न, विकास र समृद्धिको काममा खट्ने सबैलाई कलममार्फत सहयोग गर्न उहाँले पत्रकारहरूलाई सुझाव दिनुभएको छ। पत्रकारिताले आविष्कार र संस्कार दुबैलाई समेट्नुपर्नेमा सुवेदीले जोड दिनुभएको थियो।
कार्यक्रममा समाजका अध्यक्ष डा. बालकृष्ण चापागाईंले स्याङ्जाको समृद्धि र विकासका लागि पत्रकारिता गर्न स्याङ्जा पत्रकार समाज गठन गरिएको बताउनुभयो । उहाँले जन्मभूमी वा पुख्र्यौली स्याङ्जा भएका पत्रकारिता गर्ने वा अन्य पेशा अपनाएका सबैलाई जन्मस्थानको समृद्धिका जुट्न आग्रह गर्नुभएको थियो।
कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले कालीगण्डकी नदी संसारको सबैभन्दा पवित्र नदि भएकाले स्याङ्जामा धार्मिक पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो ।कालिगण्डकी डाइभर्सन धार्मिक चेतना नभएका व्यक्तिले गर्न खोजेको, संस्कार र सभ्यता विरोधी कार्य भएको बताउँदै कानुनभन्दा धर्म संस्कार धेरै माथी रहेको कुरामा उहाँले जोड दिनुभएको थियो।
स्याङ्जामा जन्मेर देशका विभिन्न क्षेत्रमा पत्रकारितामा सक्रिय रहेका पत्रकारहरुको संस्था स्याङ्जा पत्रकार समाजले स्याङ्जाको समग्र विकास र समृद्धिमा मिडिया र सरोकारवालाको भूमिकाका विषयमा गल्याङ नगरपालिकाको सभाहलमा अन्तरक्रिया गरेको हो।