समाचार
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सपथ ग्रहण
रेडियो आँधीखोला
वालिङ, २० वैशाख ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ ८ को तेस्रो पदस्थापन समारोह वालिङ नगरपालिका सभाहलमा शुक्रबार सम्पन्न भएको छ । यहि बैसाख ११ गते सम्पन्न निर्वाचनमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र दुई सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुका साथै प्रमाण प्राप्त गरेका छन् ।
निर्वाचनमा अध्यक्षमा विद्या श्रेष्ठ, उपाध्यक्षमा कल्पना अर्याल, सचिवमा टेकलाल खनाल, कोषाध्यक्षमा रोशन कुँवर र सदस्यहरुमा ताराप्रसाद श्रेष्ठ र कृष्णकुमारी आले निर्वाचित हुनुभएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत नारायणप्रसाद रेग्मीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले खानेपानी संस्था सबैको भएको बताउँदै सबैको अपनत्व प्राप्त हुँने गरी दुखेका मनहरुलाई पनि समेट्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । गरिबिको रेखामुनि रहेकाहरुलाई निशुल्क धारा जडान गरी सबैको पहुँचमा वालिङ साना शहरी खानेपानी पुग्नुपर्ने भन्दै यस्तो मोडालिटि कार्यान्वयन गर्न उहाँको सुझाव छ । पछिल्लो समय हरेक संस्थालाई राजनितिसंग जोड्ने परिपाटी बनेको अवस्था सबैले माया गर्ने सबैको अपनत्व हुँने संस्थाको रुपमा विकास गर्नुपर्ने भन्दै जिवनको महत्वपुर्ण पदार्थ पानीमा कसैले पनि राजतिनि गर्न नहुँने बताउनुभयो ।
वालिङ साना शहरी खानेपानीको विगतका बारेमा स्मरण गर्दै संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएको सांसद अर्यालले २०५० सालमा शुरु गरिएको संस्थाले वालिङ बजारमा निजि धाराको प्रक्रिया शुरु गरिएको बताउनुभयो । वालिङ साना शहरी खानेपानी संस्था अझै पनि समस्या मुक्त हुँन नसकेको अवस्था रहेको भन्दै संक्रमणकालीन अवस्थामा रहेको संस्थालाई सबैले शसक्त बनाउँन र शुद्ध खानेपानी घरघरमा पु¥याउने धेरै कामहरु बाँकी रहेको भन्दै यी कामहरुप्रति प्रतिवद्ध भएर नयाँ टिमलाई अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद मोहन रेग्मीले नवनिर्वाचित टिमलाई निकै चुनौती र अवसर पनि रहेकाले यसका लागी शसक्त ढंगले अगाडि बढ्न आग्रह गर्नुभयो । पछिल्लो समय ठुला राजनितिक दललाई प्रहार गर्ने परिपाटीको विकास भईरहेका बेला राजनिति गर्ने व्यक्तिहरु इमान्दारी र नैतिकवान हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका अध्यक्ष शोभाकान्त पौडेललगायतले सफा र सुद्ध पिउने पानी वितरणका लागी सबै सकरात्मक रहेको र संस्थालाई सहयोग तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नवनिर्वासचित अध्यक्ष विद्या श्रेष्ठले पानीलाई व्यवस्थित बनाएर खानेपनी वितरण गरिएको भन्दै सरसफाईको क्षेत्रका लागी पनि डिपिआर तयार गरेर अगाडि बढेको बताउनुभयो ।