समाचार
चापाकोट नगरपालिका “पूर्ण खोप पालिका” घोषणा
वालिङ, २५ वैशाख ।
स्याङ्जाको चापाकोट नगरपालिका आज पुर्ण खोप पालिका” घोषित भएको छ। जनस्वास्थ्य कार्यलय स्याङ्जा तथा चापाकोट स्वास्थ्य शाखा, नगरपालिका सहयोगमा नगरभित्रका १५ महिनासम्मका ३ सय १९ बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेको पुष्टिपछि घोषणा गरिएको हो।
नगरपालिकाको वडा नं १ देखि १० सम्मका बालबालिकाहरूको तथ्याङ्क संकलन, खोप अभावमा रहेका अभिभावकहरूको सचेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक प्रयास र स्थानीय स्वास्थ्य संस्थाको सक्रियताले बालबालिकालाई खोप लगाइएको हो । घोषणा समारोहमा नगर उप–प्रमुख इशा रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखाका बिन्दु कोइराला र सन्चालन सुवास देवकोटाले गर्नुभएको थियो।
कार्यक्रममा जनस्वास्थ्य कार्यलय स्याङ्जा प्रमुख केशव प्रसाद चापागाईं चापाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे स्वास्थ्य शाखा प्रमुख , महिला स्वास्थ्य स्वयंसेविकाहरू, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो। स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले सबै वडामा शतप्रतिशत खोप सुनिश्चित गर्न गरिएको योजना, सर्वेक्षण र पुनः अनुगमन प्रक्रियाबारे जानकारी दिनुभयो। कार्यक्रममा १० वडाका वडा अध्यक्ष र स्वास्थ्यकर्मीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो।