समाचार
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण
वालिङ, २६ वैशाख ।
स्याङ्जाका प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंले स्याङ्जाको प्रहरी प्रमुखमा सरुवा गरेपछि न्यौपानेले पदभार ग्रहण गर्नुभएको हो । स्याङ्जा प्रहरी प्रमुखको पदभार ग्रहणअघि न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत कर्मचारी, मातहत कार्यालय प्रमुखहरुलगायतले पुष्प गुच्छासहित स्वागत समेत गरेका थिए ।
स्वागत तथा पदभार ग्रहणपश्चात् प्रहरी उपरीक्षक न्यौपानेले कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई समग्र स्याङ्जा जिल्लाको शान्ति सुरक्षामा प्रहरी समुदायसँग साझेदारी गर्दै चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन समेत दिनुभयो । यसअघि स्याङ्जा प्रहरी प्रमुख रहेका एसपी शालिग्राम शर्माको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा रानीपोखरीमा सरुवा भएको छ ।