समाचार
बिरुवामा निःशुल्क स्वास्थ्य शिविर,२ सय ४० जनाको स्वास्थ्य परीक्षण
वालिङ, ११ जेठ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले ८ नम्बर वडाको भुरुङचौकीस्थित भीरकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरको शुभारम्भ गर्दै नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. राजन शर्माले रोगको पहिचान गर्ने मुख्य उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । एकदिने शिविरबाट रोगको निदान भन्दा पनि रोगको पहिचान गर्नु मुख्य उद्देश्य रहेको डा. शर्माले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “रोगको पहिचान गरेपछि उपचारको उपाय अपनाउन सकिन्छ । शिविरले सबै सुविधा नदिन पनि सक्छ तर रोग अनुसारको उपचारका लागि राम्रा अस्पताल जान सुझाव सल्लाह दिन र समयमा उपचार गरेर निको हुन मदत पुग्छ ।। नसोचेको रोग पनि पत्ता लाग्नसक्छ । रोग पत्तालाग्नु र समयमा सम्बन्धित चिकित्सकसँग परीक्षण गराउन सल्लाह दिनु पनि उपलव्धी ठान्दछौं । यस्ता शिविरले नागरिकको स्वास्थ्यलाई महत्वपुर्ण टेवा पुग्नेछ । ”
आफु जन्मेको गाउँमा शिविर राख्नका लागि पालिकासंगको सल्लाहमा शिविर सञ्चालनमा ल्याइएको समेत उहाँ जानकारी गराउनुभयो ।
यस अवसरमा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले गाउँ ठाउँमा रहेका नागरिकहरुका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैजना उपचारका लागि टाढा जान नसकिएको पनि हुनसक्छ र जटिल खालका रोग लागेका पनि हुनसक्छौं । रोगले ग्रस्त भैसकेपछि मात्र उपचारमा लाग्ने हाम्रो बानी छ । सानो भन्दा सानो रोगबाट सुरक्षित हुन सकियोस् र जटिलखालको रोग लागेको रहेछ भनेपनि समयमै उपचार गर्न पाइयोस् भनेर विशेषज्ञसहितको शिविर सञ्चालन गरिएको हो ।”
शिविरमा नशा तथा मानसिक रोग, स्त्री तथा प्रसुति, मृर्गौला, नाक कान घाँटी, दन्त रोग, पेट छाती तथा कलेजो, मुटुरोग र हाडजोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा जाँच एवम् भिडियो एक्सरे तथा ल्याव परीक्षण गरिएको थियो ।
शिविरमा नशा तथा मानसिक रोग विशेषज्ञ डा. राजन शर्मा र राजेन्द्र घिमिरेको साथमा सम्बन्धित रोगका विशेषज्ञहरुबाट सेवा प्रदान गरिएको थियो । आज सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा महिला र पुरुष गरी २ सय ४० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल चिकित्सक संघ गण्डकीको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।