समाचार
धानखेति उत्पादन सम्बन्धी दुईदिने तालिम शुरु
रेडियो आँधीखोला
वालिङ, १७ जेठ ।
वालिङ १३ मुटुभञ्याङ आधारभुत विद्यालयमा धानखेति उत्पादन सम्बन्धी दुईदिने तालिम शुरु भएको छ । “अन्न उत्पादन बढाऔं, देशलाई आत्मनिर्भर बनाऔं”, भन्ने नाराका साथ झोलुङंगे सामुदायिक सिकाई केन्द्रको आयोजना तथा वालिङ नगरपालिका वडा नं. १३ को सहयोगमा दुईदिने तालिम शुक्रबार शुरु भएको हो ।
कार्यक्रममा नेपाली कागें्रस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डेले परम्परागत खेतिबाट माथि उठेर आधुनिक तवरबाट खेतिबाली लगाउनुपर्ने भन्दै यस्ता तालिमले कृषकहरुलाई अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्र विकासको मेरुदण्ड भएकाले कृषिको विकास बिना सिंगो मुलुकको विकास हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखाप्रमुख ख्यामनारायण काफ्ले, वालिङ नगरपालिका कृषि शाखाका जेटि केशबहादुर थापा, रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा धानखेति गर्ने तरिका, बीउ छनौट, व्याड राख्ने तरिका, धानमा लाग्ने रोग तथा निदानलगायतका विषयमा जेटि केशबहादुर थापाले सहजीकरण गर्नुभएको छ ।
कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष देविलाल गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत भगवती भण्डारी र इन्द्रप्रसाद पाठकले सञ्चालन गर्नुभएको थियो । तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको छ ।