समाचार
वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया
वालिङ, २९ जेठ ।
स्याङ्जाको वालिङमा सहकारीहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग नयाँ बानेश्वर काठमाडौले सहकारी संघ संस्थाहरुको वित्तीय जोखिम व्यवस्थापन सम्बन्धी २ दिनको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरु सेवामुखी संस्था भएको बताउनुभयो । बचत तथा ऋणसहित वित्तीय कारोबार गर्ने भएपनि सहकारीलाई सेवामुखी संस्था भनेर बुझ्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, “फलानो सहकारीले नाफा कति बाँड्यो भनेर सोधिन्छ, यस्तो सोंचसहितको नाफामुखी प्रवृत्ति सहकारीको नीति र विधि विपरित हो ।” अध्यक्ष पौडेलले हामीले बेलायत र अमेरिकाको जस्तोगरी सहकारीलाई चलाउन खोजेर हुँदैन, यहींको अवस्था एवम् परिवेश वमोजिम सहकारीको ऐन, नियम तथा विधीको आधारमा सञ्चालन गर्नसक्नुपर्ने औंल्याउनुभयो ।
त्यही नीति र विधी अनुसार चल्न नसक्दा धेरै सहकारीहरुमा गरेको छ । एक दुइवटा सहकारीको कमजोरीले जिल्लाभरिका सहकारीहरुको बदनाम गराएको छ । आज ९७ प्रतिशत सहकारीका ऋणीहरु किस्ता र व्याज बुझाउन नसक्ने अवस्थामा रहेकोसमेत उहाँले व्यक्त गर्नुभयो । सहकारीको नियमक निकाय सहजकर्ता हो शासक होइन । नियामक निकायहरुले माथिदेखि तलसम्म व्यवस्थित गर्न जरुरी रहेको अध्यक्ष पौडेलको धारणा छ । एउटा सहकारीमा समस्या आउँदा खुसी हुने होइन, सजग रहेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रमको बारेमा सहकारी विभागका उप रजिष्ट्रार शशिकुमार लम्सालले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । हिजो पहिलो दिन सहकारी विभागका शाखा अधिकृत हरि पौडेलले सहकारीको वित्तीय जोखिम विषयक प्रस्तुति राख्नुभएको थियो । यस्तै आज अन्तिम दिन विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सम्पत्ति शुद्धिकरण सचेतना कार्यक्रम सम्बन्धी सहजिकरण गर्नुभएको थियो । जिल्ला सहकारी संघमा आवद्ध संस्थाका व्यवस्थापकहरुको सहभागितामा अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।