समाचार
वालिङमा पुस्तक माथि विमर्श एवम् रचनावाचन
वालिङ, २९ असार ।
स्याङ्जाको वालिङमा पुस्तक विमर्श एवम् रचनावाचन कार्यक्रम गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाले लक्ष्मी रेग्मी खनालको लघु कथा सङ्ग्रह “अन्त्य” को विमर्शसहित रचनावाचन कार्यक्रम आयोजना गरेको हो । २०८१ वैशाखमा सार्वजनिक गरिएको पुस्तक माथि आज शनिबार विमर्श गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा लघु कथा सङ्ग्रह “अन्त्य” को विमर्श गरिएको थियो । पुस्तककाबारेमा अनन्त अर्याल, शम्भु अर्याल र इन्दु श्रेष्ठले विमर्श गर्नुभएको थियो । वक्ताहरुले लघु कथा छोंटो मिठो र चोटिलो साहित्य भएको र खनालद्वारा लिखित लघु कथा सङ्ग्रह अन्त्य राम्रो र पठनीय कृति रहेको बताउनुभयो । यसैगरी लेखिका खनालले साहित्य सिर्जनामा लाग्दाको अनुभव, महत्व र लेखनकार्य एवम् अनुभूतिका सन्दर्भमा आफ्नो विचार राख्नुभएको थियो ।
यसपछि दोस्रो चरणमा एकल रचनावाचन गरिएको थियो । कार्यक्रममा आधा दर्जन बढिले रचना वाचन गरेका थिए । कार्यक्रमको सहजिकरण वैकल्पिक यात्रा पृथक पाइलाका मिलन समिरले गर्नुभएको थियो ।