समाचार
फेदिखोलामा बालविवाह विरुद्धको अभिमुखिकरण
रेडियो आँधीखोला
वालिङ, १३ साउन ।
एस ओ एस चिल्ड्रेन्स भिलेज गण्डकी प्रदेशको आयोजना तथा स्याङ्जाको फेदीखोला गाउँपालिकाको समन्वयमा फेदिखोला गाउँपालिकामा बालविवाह विरुद्धको अभिमुखिकरण तथा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गर्नुभएको थियो ।
एस ओ एस ले फेदीखोला गाउँपालिका भित्रका अभिभावक बिहिन १३ परिवारका २२ जना बालबालिकाको शैक्षिक क्षेत्रमा परिवार सबलीकरण कार्यक्रम अन्तर्गत सहयोग गरेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ्, वडा अध्यक्षहरु, भिलेजका सहायक निर्देशक राजेश अधिकारी, परिवार सबलीकरण कार्यक्रम अधिकृत प्रकाश भुषाल, बाल संगठन कास्कीका सदस्य प्रभा भुजेल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।