समाचार
गल्याङ आँधीखोला महोत्सवमा १७ लाख आम्दानी
वालिङ, १७ साउन ।
स्याङ्जाको गल्याङमा गत वैशाखमा भएको गल्याङ आँधीखोला महोत्सवमा एक लाख २५ हजार वचत भएको छ । गल्याङ नगरपालिका तीन तल्लो गल्याङ खेल मैदानमा गत वैशाख ४ गतेदेखी १८ गते सम्म भएको गल्याङ आँधीखोला महोत्सवमा एक लाख २५ हजार बचत भएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।
महोत्सवका कोषाध्यक्ष विश्वनाथ पाठकले दिएको जानकारी अनुसार महोत्सवमा जम्मा आम्दानी सत्र लाख चालिस हजार भएको छ । यस्तै जम्मा खर्च १६ लाख १५ हजार भएको छ भने यसबाट जम्मा वचत १ लाख २५ हजार भएको हो । कार्यक्रममा तल्लो गल्याङ खेलमैदान समिति तथा महोत्सवका मुल आयोजक समितिका अध्यक्ष पदम गाहाले महोत्सव सफल भएको बताउनुभयो ।
उहाँले महोत्सव सकिएपछि राजस्व सहितका विभिन्न कामहरु गर्नुपर्ने भएकाले पत्रकार सम्मेलन कार्यक्रम गर्न केही ढिलाई भएको बताउनुभयो । यस महोत्सवले तल्लो गल्याङ खेल मैदान निर्माण गर्न आधार तयार भएको बताउनुभयो ।
महोत्सवमा एकता र सहभागिता उत्साहजनक देखिएको उहाँले बताउनुभयो । अध्यक्ष गाहाले आठ रोपनी आँधीखोलाले छाडेको जग्गा सहित करिब २० रोपनी जग्गामा खेलमैदान बन्दै गरेको र यसले महत्वपुर्ण भूमिका खेलेको पनि बताउनुभयो ।