समाचार
स्याङजाका दुई नगरपालिकामा प्राकृतिक चिकित्सा सम्बन्धी जनचेतनामूलक कार्यक्रम
वालिङ, २३ साउन ।
सामुदायिक प्राकृतिक चिकित्सालय, देवचुलीद्वारा स्याङजाको वालिङ र गल्याङ नगरपालिकामा प्राकृतिक चिकित्सा तथा योगको महत्वबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।आहार–विहारमा आएको अव्यवस्था तथा तनावपूर्ण जीवनशैलीका कारण जनमानसमा दीर्घ रोगहरूको समस्या दिनप्रतिदिन विकराल बन्दै गइरहेका बेला उक्त चिकित्सालयले नागरिकलाई जीवनशैली परिवर्तनमार्फत रोग मुक्त बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो ।
रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको चिकित्सालयका प्रमुख चिकित्सक डा आजाद पुरीले बताउनुभयो । “मानिसलाई स्वस्थ राख्ने उद्धेश्यले देशभर अस्पतालहरु खोलिएका छन् । तर रोगीहरुको संख्या घट्न पर्ने ठाउँमा दिनानुदिन दिर्घरोगीको संख्या र नयाँ रोग बढ्न थालेको छ” , पुरीले बताउनुभयो ।
वालिङ नगरपालिकाले पनि यसै वर्षबाट सामुदायिक वन , निजी र बाँझो जग्गामा जडिबुटी लगाउने योजना अघि सारेको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । नगरले सामुदायिक विद्यार्थीलाई लक्षित गरेर विद्यार्थीहरुलाई दैनिक योग अभ्यास शिविर संचालन गरेको गैरेको भनाई छ ।
चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार, २०६० सालमा आफैंलाई एकसाथ ७ वटा रोगले समातेपछि उहाँले वैकल्पिक उपचारको बाटो रोज्दै २०६४ सालमा महायज्ञको आयोजना गरी ५२ शैयाको अस्पतालको रूपमा चिकित्सालयको स्थापना गर्नुभएको थियो । हाल सो अस्पतालको क्षमता ३०० शैयामा पुगेको छ र आगामी वर्षदेखि योग तथा नेचुरोपेथी शिक्षण अस्पतालका रूपमा विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिनुभयो ।
यस वर्ष गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा ‘भान्सा नै औषधालय, जीवनशैली नै उपचार’ भन्ने नारासहित जनचेतनामूलक महाअभियान सञ्चालन गरिएको छ । यही अभियानअन्तर्गत चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चरणको कार्यक्रम स्याङजाबाट सुरु गरिएको देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो ।