समाचार
स्याङ्जामा परिचयपत्र बनाउनेको भीड
वालिङ, ३१ साउन ।
सकरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि स्याङ्जाका दुई प्रशासनिक कार्यालयमा भिड लागेको छ । राष्ट्रिय परिचयपत्र बनाउने भिड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बढ्दै गएको सेवाग्राहीको भीड व्यवस्थापन गर्न सेवा समय विस्तार गरेको छ । सार्वजनिक बिदाका दिन बाहेक बुधबार देखि बिहान ८ बजेदेखि सेवा प्रवाह गरिएको छ ।
सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्त भित्र आवश्यक कागजात नविकरण गराइसक्नु पर्ने कानुनी व्यवस्था छ । चालु् वर्षदेखि राष्ट्रिय परिचयपत्र नम्बरको अनिवार्य व्यवस्थालागु भएपछि प्रशासनमा सेवाग्राहीको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ ।
बालबालिका, अशक्त, र ९० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि तत्काल राष्ट्रिय परिचयपत्र नम्बर बिनापनि नवीकरण हुने व्यवस्था गरेको प्रशासनले परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार सेवाग्राही परिचयपत्र बनाउन आउन थालेपछि चाप थपिएको जनाएको छ । समय विस्तारले सेवाग्राहीलाई सहज र शीघ्र सेवा लिन मद्दत पुग्ने विश्वास गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए ।
परिचयपत्र नविकरणका लागि दैनिक तीन सयभन्दा बढी सेवाग्राही आउने गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर ममिता भुसालले बताउनुभयो । अधिकांश सेवाग्राही ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेको उहांले बताउनुभयो । यता इलाका प्रशासन कार्यालयमा पनि राष्ट्रिय परिचयपत्र बनाउन आउनेको निकै भिड लागेको कम्प्युटर अपरेटर नरेश पौडेलले बताउनुभयो । सेवाग्राहिको भिड बढ्न थालेपछि बिहान ८ बजेदेखी बेलुका ८ बजेसम्म सेवादिएको पौडेलले बताउनुभयो ।