समाचार
भेषजराज साहित्य प्रतिष्ठान, ८८औँ नियमित रचना वाचन
वालिङ, ८ भदौ ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले १६०औँ मोतिजयन्तीका अवसरमा आफ्ना ८८औँ नियमित रचना वाचन सम्पन्न गरेको छ । शनिबार कुशे औँसी, मोतिजयन्तीको अवसर पारेर प्रतिष्ठानले वालिङ नगरपालिका सभाहलमा नियमित रचना वाचन गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै मोहिनीशरण प्रतिष्ठानका अध्यक्ष ध्रुवशरण अर्यालले मोतिराम भट्ट नेपाली साहित्य फाँटका विभूति रहेको बताउनुभयो । मोतिराम भट्ट ३० वर्षे अल्पायूमै देहावसान भएपनि नेपाली साहित्य आकाशमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्व भएकाले हामी सबैले उहाँको स्मरण गर्नुपर्ने अर्यालले उल्लेख गर्नुभयो । यसैगरी कुशेऔंशी हिन्दु सनातनीहरुका लागि अर्को महत्व राख्ने दिन भएको उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज काटेको कुश हामीले परम्परादेखि गर्दै आएका विभिन्न कार्यहरुमा वर्षभरी प्रयोग गरिन्छ । जन्म, मृत्यु संस्कार तथा विभिन्न पूजाआजाहरुमा आज काटेको पवित्र कुश प्रयोग गरिने भएकाले कुशे औंशीले विशेष महत्व राख्दछ ।”
यसैगरी औंशी विशेषगरी पितृप्रिय तीथि रहेको अर्यालले बताउनुभयो । कुशे औंशीमा बुवाको मुख हेर्ने दिनकारुपमा मान्ने सन्दर्भमा उहाँले पहिला यस्तो प्रचलन नभएको र कुनै शास्त्रीय भनाई पनि नरहेको बताउनुभयो । कुशे औंशीका दिन आफ्ना पित्रृलाई स्मरण गर्ने परम्परा हो तर जीवित पिताहरुको मुखहेर्ने प्रचलनको विकास पछिल्लो समयमा गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा वालिङ नगरपालिका प्राविधिक साखा प्रमुख मणिप्रसाद तिवारीले आफ्ना सुभकामना मन्तव्य राख्नुभएको थियो भने योजना साखा प्रमुख ढालबहादुर केसीले मोतिराम भट्टले साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, पत्रकार गोपाल जिटि, कृष्णप्रसाद अर्याल, ठाकुरप्रसाद सुवेदी, डोलराज सुवेदी, इन्द्रप्रसाद पाठक, पारिश्वर न्यौपाने, बोधराज न्यौपाने, विष्णवु पंगेनी पाण्डे, दमकुमारी बगाले, बोधराज न्यौपाने, प्रेमप्रसाद सुवेदी, निलकण्ठ लम्साललगायतले दिवंगत पितृहरुको सम्झनामा रचनाहरु वाचन गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका सहसचिव कमल बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लेखनाथ खनाल र सञ्चालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।