समाचार
गल्याङ–११ बुढाथोकीडाँडा र गल्याङ–७ सेनापुक जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
रेडियो आँधीखोला
वालिङ, १८ भाद्र ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ बुढाथोकी डाँडा र वडा नम्बर ७ सेनापुक जोड्ने ४४४ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले पुलको निर्माण कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँले यो पुल सम्पन्न भएपछि सेनापुक क्षेत्र सीधै सिद्धार्थ राजमार्गसँग जोडिने बताउनुभयो ।
पुल बनेपछि स्थानीय बासिन्दाको दैनिक आवतजावत, व्यापार–व्यवसाय र जनजीवन सहज हुने जनाइएको छ । हालसम्म सेनापुक क्षेत्रका बासिन्दाहरूले लामो बाटो घुमेर आवागमन गर्नुपर्ने बाध्यता रहेकोमा पुल निर्माणले ठूलो राहत पुग्नेछ ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले भन्नुभयो, “गल्याङ नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । बुढाथोकी डाँडा र सेनापुक जोड्ने झोलुङ्गे पुल निर्माणपछि यस क्षेत्रको जनजीवनमा नयाँ आशा र सहजता आउनेछ । हामी नागरिकलाई नजिक पार्ने, यातायात र व्यापारमा सहजता ल्याउने र नगरलाई समग्रमा विकासको मार्गमा अघि बढाउने लक्ष्यका साथ अघि बढिरहेका छौं ।”