समाचार
भष्ट्रचार विरुद्ध चारघण्टा उभिएर बिरोध प्रदर्शन
वालिङ, १ असोज । चापाकोट नगरपालिका १० का दिपेश भण्डारी चारदिन देखी उभिएर विरोध जनाइरहनुभएको छ । मुलुकमा बढ्दो भष्ट्रचार र बेथिति बिरुद्ध भण्डारीले उभिएर सांकेतिक विरोध जनाउनुभएको हो । स्याङ्जा चापाकोट नगरपालिकाको सुन्तलीटार स्थित सडक छेउमा राष्ट्रिय झण्डा काँधमा बोकेर दुई ओटा प्लेकार्ड बोकेर उहाँ चारदिन देखी बिरोधमा हुनुहुन्छ । भदौ २९ गते आइतबारबाट दिउँसो २ बजेदेखी बेलुका ६ बजेसम्म चारघण्टा उहाँले भष्ट्रचार र बेथितिको अन्त्यको माग गर्दै उहाँले आन्दोलन शुरु गर्नुभएको हो । भण्डारीले बोकेका प्लेकार्डमा ‘देश बेच्ने पार्टी खारेज गर’ र ‘भष्ट्रचारीलाई मुण्डन गरी देश निकाला गर’ भन्ने नारा लेखिएका छन् । २८ वर्षिय भण्डारी हालसालै ‘जेन जी’ ले गरेको आन्दोलनका समर्थक समेत हुनुहुन्छ । ‘जेन जी’ ले उठाएका मागहरु ओझेलमा परेको समेत भण्डारीले बताउनुभएको छ । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउनुपर्ने माग हामीले राखेका थियौं उहाँले भन्नुभयो,‘अन्तरिम सरकारले फागुनमा गराउने निर्वाचनमा यो हुने सम्भावना देखिन ।’ तत्काल संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गराउनुपर्ने प्रक्रिया अगाडी बढाउनु पर्छ उहाँले भन्नुभयो । देशभरी मौलाएको भष्ट्रचार सँगै आफ्नै नगरमा भएको भष्ट्रचार बिरुद्ध आफ्नो आन्दोलन शुरु भएको भण्डारीको भनाई छ । लोकतान्त्रिक निर्वाचन, वडातहसम्म जनताको अधिकार, जनताले चाहेको मागलाई संबोधन, माटो परिक्षण गरी विषादीयुक्त कृषि उत्पादन सहित पर्यावरण जोगाउने लगायतका मागहरु उहाँले उठाएउनुभएको छ । पहिलो चरण चारघण्टा उभिएर सांकेतिक आन्दोलन शुरु गरेको बताउदै भण्डारीले अन्तरिम सरकारले ‘जेन जी’का माग पुरा नभएमा आमरण अनसन सम्म बस्ने संकेत गर्नुभयो। पुराना पार्टीले सुशासन कायम गर्न नसकेको र भष्ट्रचारलाई संस्थागत गरेकाले हाम्रो पुस्ताले आन्दोलन गर्नु परेको भण्डारीले बताउनुभयो । मैले गरेको सांकेतिक आन्दोलनले भष्ट्रचारबिरुद्धको जनचेतना जगाउने पनि लक्ष्य रहेको उहाँले बताउनुभयो । भण्डारी एक्लै सडक छेउमा उभिएर बिरोध जनाएकोमा स्थानीयको समेत साथ रहेको बताइएको छ । एकजना युवाले भष्ट्रचार र सुशासन बिरुद्ध गरेको सांकेतिक बिरोधलाई सबैले साथ दिनुपर्ने स्थानीयले बताएका छन् । भदौं २३ र २४ गते देशभर भएको ‘जेन जी’ को आन्दोलनले स्याङ्जामा सामान्य क्षती भएको थियो । अन्य जिल्लाको क्षतीको तुलनामा स्याङ्जामा ‘जेन जी’ ले खेलेको भुमिका राम्रो भएकै कारण जोगिन पुगेको बताइएको छ । क्षती गरेर मात्रै आन्दोलन सफल नहुने भन्दै यस्तै सांकेतिक बिरोधले पनि हरेक मागलाई सम्बोधन गर्न सहज हुने स्याङ्जावासीले बताएका छन् ।