समाचार
सोमबारदेखि वालिङमा भागवत महापुराण, महापुराणको पुर्व सन्ध्यामा बजार सफाई
रेडियो आँधीखोला
वालिङ, ५ असोज ।
स्याङ्जाको वालिङमा भोली सोमबारदेखि श्रीमद्देवी भागवत् महापुराणम् ज्ञान यज्ञ शुरु हुँदैछ । वालिङ १० भकुण्डेमा रहेको शिव पार्वती मन्दिर व्यवस्थापन समितिले श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ—२०८२ को आयोजना गरेको हो । भोली सोमबार दशैँको घटस्थापनादेखि शुरु हुने महापुराणको पुर्व सन्ध्यामा शनिबार बजार सरसफाई गरिएको छ । मन्दिर परिसर भकुण्डे मेन बजार हुँदै भकुण्डे ठाडोलाईन, भुम्रे, हेल्थपोष्ट चोक, घुम्ती हुँदै राजमार्ग वरपर सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । मुख्य कथा वाचक पण्डित प्रकाश तिवारी रहनुहुने यज्ञ १५ गते नवदुर्गा अवधीसम्म रहनेछ ।
नवदुर्गा मन्दिरमा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम अनुसार अगाडि बढिएको भन्दै यो महापुराण विसुद्ध धर्म, संस्कार र संस्कृतिको जगेर्णाका लागि गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो ।
महापुराणमा नारायण गौतमलगायतका राष्ट्रिय लोक भजन गायकहरुबाट दैनिक सङ्गीतमय वातावरणमा महापुराण हुनेछ ।
घटस्थापनाका दिन कलशयात्रासहित सुरु हुने यज्ञमा दैनिक विहान ७ देखि १२ बजेसम्म पूजा, पाठ पारायण हवन गरिनेछ । यसैगरी दुर्गापूजा, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ तथा कन्या पूजा हुने आयोजकले जनाएको छ । दिनको साढे बाह्रदेखि ४ बजेसम्म श्रीमद्देवी भागवतमहापुराणम् झाँकीसहितको सङ्गीतमय कथा वाचन हुने छ । साँझ ७ देखि ८ बजेसम्म दुर्गा आरती गरेपछि राष्ट्रिय लोक भजन गायक नारायण गौतमसहितका कलाकारहरुबाट भजन किर्तन रहने छ । १४ गते लक्षवर्ती र १५ गते विधिवत यज्ञ समापन गरिने छ । यज्ञका लागि नवजागरण संस्था र स्पन्दन युनाइटेड क्वल सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।