समाचार
कालीगण्डकीबाट एक करोड ३६ लाखको खसी बोका निर्यात
तोलाकान्त बगाले
वालिङ, २९ असोज ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दशैंको अवधिमा खसी बोका बिक्रीबाट रु. एक करोड ३६ लाख भित्रिएको छ । खसी तथा बोकाको पकेट क्षेत्र कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका विभिन्न वडाबाट दशैं पर्वलाई लक्षित गरी उत्पादन भएका खसी बोका निर्यातबाट रु. एक करोड ३६ लाख ६२ हजार भित्रिएको हो ।
गाउँपालिकाका पशु विकास शाखाका प्रमुख राजेश पाण्डेयका अनुसार दशैं पर्वलाई लक्षित गरी गत भदौदेखि दशैंको अवधिमा पालिकाका विभिन्न गाउँहरुबाट ७८६ वटा खसी बोकाहरु बिक्री भएका हुन् ।
बिक्री भएकामध्ये २८० वटा स्थानीय बजार तथा गाउँमै खपत भएका हुन् । बाँकी ५०६ वटा खसी बोका पालिकाभन्दा बाहिर निर्यात भएका उहाँले बताउनुभयो ।
“सरदर ३० केजी तौलका खसी बोका प्रचलित प्रति केजी ९०० का दरले बिक्री भएको हो” उहाँले भन्नुभयो, “१५ हजार १८० केजी मासु बिक्री हुँदा रु. एक करोड ३६ लाख ६२ हजार बराबरको रकम गाउँपालिकामा भित्रिएको हो ।”
सात वटा वडा रहेको कालीगण्डकी गाउँपालिकामा विशेष गरी वडा नं १ र २ मा खसी बोका धेरै उत्पादन हुने गरेको छ । बाह«ै महिना खसी बोकाको व्यावसाय हुने गरेपनि दशैंको अवधिमामात्र वडा नं १ को कारीकोट चण्डीभञ्ज्याङबाट २६० र वडा नं २ को घुरडाँडा र लसर्घावेसीबाट २१० वटा खसी बोका बिक्री भएका उहाँले जानकारी दिनुभयो ।
बाख्रा पकेट कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कार्यक्रमहरु यहाँ सञ्चालन भएकाले पनि गाउँका प्रत्येक जसो घरमा १० देखि २५–३० वटा बाख्रा रहेका घुरडाँडाका बाख्रापालक कृषक कुमार झेंडी मगरले बताउनुभयो ।
प्रायःजसको घरमा बाख्रापालन छ । विशेष गरी स्थानीय खरी जात र केही उन्नत जातका बाख्राहरु यहाँ पाल्ने गरिएको छ । ७० भन्दा धेरै घरधुरी रहेको यस गाउँका प्रायःजसो घरधुरीले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
“पहिला पशुपालक कृषक र व्यापारीबीच मोलमलाई हुने गथ्र्यो” कृषक मगरले भन्नुभयो, “अहिले गाउँपालिकाले किलोका आधारमा मुल्य निर्धारण गरिदिएकाले सहज भएको छ ।”
कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादन भएका खसी बोकाको प्रतिकेजीका आधारमा मुल्य निर्धारण गरिदिएको छ । गाउँपालिकाले पालिकाभित्र उत्पादन भएका खसी बोकाको बजारीकरणको ग्यारेन्टी गरिदिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाले २४ केजीदेखि ६१ केजीसम्म र सोभन्दा धेरै केजी भएका जिउँदो खसी बोकाको प्रतिकेजीका दरमा मुल्य निर्धारण गरिदिएको छ ।
न्यूनतम प्रतिकेजी रु. ३८० देखि अधिकतम ५८० सम्म मुल्य कायम गरिदिएकाले सोही मुल्यका आधारमा कृषकले बिक्री गर्दै आएका छन् । कृषकले उत्पादन गरेको खसी बोका खरिदकालागि व्यापारीहरु गाउँमै आउने गरेका छन् । गाउँमै आएर खसी बोका सङ्कलन गरी लैजाने गरेकाले पनि कृषकहरुले बजार खोज्नुपर्ने समस्या छैन । “गाउँपालिकाले विभिन्न वडाहरुमा खसी बोका, बंगुर तथा भैंसीका पकेट कार्यक्रमहरु सञ्चालन गरेको छ” गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।