अहिले तरंगमा

केहि छिनमा

समाचार

माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो

news

 
रेडियो आँधीखोला
वालिङ, २५ कार्तिक । 
मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा गाउँगाउँका कृषकहरु कोदो टिप्न, ठटाउन र सुरक्षित गरिरहेका छन् । स्याङ्जाको मुख्य अन्नबालीका रूपमा पहिचान बनाएको कोदो खेती गर्ने किसानहरूको सङ्ख्या बढेको  छ । पछिल्लो समय कोदोको माग बढेसँगै जिल्लाका कृषकहरु यसको खेतीमा आकर्षित भएका हुन् । सिँचाइको असुविधा भएको जग्गामा यसको खेती हुँदै आएको छ । पछिल्लो समयमा भने बाँझो रहेको बारीमा समेत कोदोको खेती हुने गरेको वालिङ नगरपालिका–५ का कृषक रामप्रसाद लामिछानेले बताउनुभयो ।
कोदो खेती बढ्नुका साथै उत्पादन समेत राम्रो भएको जिल्लाका कृषकले बताएका छन् ।  गत वर्ष जिल्लामा ११ हजार हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट करिब १४ हजार ३ सय म्याट्रिकटन उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।   यस वर्ष खेतीगर्ने क्षेत्रफल र कृषक सङ्ख्या दुवैमा वृद्धि भएकाले कोदो उत्पादनमा वृद्धि हुने कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । उचित प्रविधि, समयमै वर्षा आदि कारणले कोदो खेतीलाई फाइदा पु¥याएको उहाँको भनाइ छ ।
कोदो खेतीको प्रवर्धन र उत्पादन बढाउने योजनाले विभिन्न पालिकाले कृषकलाई सहयोग गर्दै आएका छन् । वालिङमा रहेको वालिङ प्रोडोक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले यसको संरक्षण र बजारीकरणका लागि काम गर्दै आएको अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत रुपमा गरिँदै आएको कोदो खेती र यसको बीउको संरक्षणका लागि काम गर्दै आएका छौं ।” कोदो खतीका लागि पकेट क्षेत्र मानेर काम गरिरहेको उहाँको भनाइ छ ।
स्थानीय तह तथा सरोकारवाला निकायले कोदो अर्थात् परम्परागत बालीलाई आधुनिक प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणालीतर्फ अग्रसर किसानलाई गराउन सके स्याङ्जाका किसानहरूले कोदो खेतीबाट राम्रो आम्दानी गर्न सक्ने देखिन्छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालयदेखि सरकारी कार्यालयसम्म कोदोको परिकार अनिवार्य गरेको छ । पालिकाले हप्ताको दुई दिन विद्यालय पोषण कार्यक्रमअन्तर्गत कोदो दिवा खाजा अनिवार्य गरेको छ भने स्थानीय संस्थाहरूमा कोदो परिकारको प्राथमिकता र प्रयोग गर्ने नीति बनाएको हो ।
स्थानीय उत्पादनको प्रवर्धन, विद्यार्थीहरूको पोषण सुधार, कृषकहरूको आम्दानी अभिवृद्धि तथा सामुदायिक स्वाभिमानको वृद्धि गर्ने योजनाका साथ कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय तथा सरकारी निकायमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू ढिँडो, मम, तावा रोटी, पुवा, सेलरोटी, कोदोको चिउरा, हलुवा, सूप आदि अनिवार्य रूपमा दिवा खाजाका रूपमा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...