समाचार
वालिङ नगरपालिकाले आफ्नै पालिका गान निर्माण गर्ने
रेडियो आँधीखोला,
वालिङ ३ मंसिर ।
वालिङ नगरपालिकाले आफ्नै पालिका गान निर्माण गर्ने भएको छ । नगरपालिकाले बुधबार एक सूचना प्रकाशन गर्दै ३० दिनभित्र व्यक्तिगत वा सामूहिक रुपमा आफ्नो रचना पेश गर्न आग्रह गरेको छ। पालिकाको गान तयार गर्दा वालिङ नगरपालिका नाम अनिवार्य समावेश हुुनपर्ने, रचनामा वालिङको सामाजिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक,धार्मिक ऐतिहासिक तथा पुरातात्विक विशिष्टता झल्कने हुनुपर्ने भनिएको छ ।
त्यस्तै पेश हुने रचना बढीमा ५० शब्द भएको मौलिक विशिष्टता झल्कने सहज तथा सरल नेपाली भाषामा हुनुपर्नेछ भने रचनामा प्रयोग भएका शब्दको संक्षिप्त व्याख्या गरिएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। साथै रचनामा कुनै जातिय विभेद, सामाजिक सदभाव, सार्वभौमिता, राष्ट्रिय एकता वा अखण्डतामा आँच आउने शंकेत वा शब्द प्रयोग गर्ने पाईने छैन् ।
पालिका गान छनोट सर्वाधिकार विषय विज्ञहरु समेत रहेको समितिमा रहनेछ भने छनोट भएको रचना विषय विज्ञहरुको समितिले आवश्यक परिमार्जन गर्नेछ । पालिका ज्ञान समितिले छनोट गरेको रचना पालिका गानको रुपमा स्विकृति सम्बन्धी अन्तिम अधिकार नगरपालिकाको रहनेछ । स्वृतिक भएको रचनाको सर्वाधिकार नगरपालिकाको रहनेछ भने रचनाकारले उक्त रचना अन्त प्रयोग गर्न पाउनेछैन् ।
छनोट भएको रचनालाई कदरपत्र र नगदले सम्मान गर्ने नगरपालिकाले जनाएको छ । इच्छुक रचनाकारले आफ्नो रचना खामबन्दी गरी नगरपालिकाको शिक्षा तथा खेलकुद साखा कार्यालयमा बुझाउन सक्नेछन् भने नगरपालिकाको इमेल walingmun@gmail.com मा समेत पठाउन सक्नेछन् । रचना पठाउँदा रचनाकारले आफ्नो नाम थर, ठेगाना, सम्र्पक नम्बर स्पष्ट संग लेखेर पठाउनुपर्ने नगरपालिकाले जनाएको छ।