समाचार
शितलाका विद्यार्थीलाई मुक्तिनाथ बैंकको न्यानो कपडा
वालिङ, ६ मंसिर ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडे स्थित शितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकले न्यानो कपडा वितरण गरेको छ । विद्यालयका जेहेन्दार झण्डै १४५ विद्यार्थीलाई बैंकले करिब एक लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा वितरण गरेको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले बैंकले आफ्ना सेवाग्राही र कार्यक्षेत्रका सबै पक्षसँग हातेमालो गर्दै अगाडी बढ्ने बताए । बैंकलाई माथि उठाउन समाजका हरेक नागरिकको समान भूमिका रहेको स्मरण गर्दै संचालक लम्सालले समाजको त्यहि वर्गको उत्थानमा बैंकले काम गर्दै आएको बताउनुभयो ।
बैंक तथा वित्तीय संस्थाहरुले नाफा आर्जनका गतिविधिमा मात्रै आफूलाई सिमित नराख्न आग्रह गर्दै स्याङ्जा बहुमुखी क्याम्पसका संस्थापक समेत रहेका लम्सालले समाजका गरिब, जेहेन्दार, मेहनती विद्यार्थी र लगनशिल, कर्मशिल वर्गका मानिसलाई सहयोग गर्दै अगाडी बढ्न सुझाउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख ऋषि ढकालले मुक्तिनाथ विकास बैंकले आफ्नो सेवालाई उच्च प्राथमिकतामा राखेर नागरिकको समयानुकूल सेवामा खटिरहेको स्पष्ट पार्नुभयोे । उहांले समाजका प्रत्येक वर्गको उत्थान र प्रगतिमा मुक्तिनाथ बैंकले सहकार्य गर्दै जाने जनाए । सोहि अवसरमा विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा मञ्च पूर्वविद्यार्थी मञ्चको सक्रियतामा विद्यार्थीलाई खेलकुद सामग्री हस्तारन्तरण गरिएको थियो । करिब १० हजार मूल्य बराबरको खेलकुद सामग्री विद्यालय मार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
विद्यालयका पूर्वविद्यार्थी तथा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत तिलबहादुर गुरुङ्कको अगुवाईमा खरिद गरिएको भलिबल, नेट सहितका खेलकुद सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा युवा समाजसेवी दिपेन्द्र आलेले जानकारी दिनुभयो । पुतलीबजार नगरपालिकावडा नं.–५ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम दोरङ्गाले स्वागत गरेका थिए भने विद्यालयका शिक्षिका अप्सरा कार्की गोदारले कार्यक्रम संचालन गर्नुभएको थियो ।
२०६३ सालदेखि स्याङ्जाबाट कारोबार शुरु गरेको मुक्तिनाथ विकास बैंक छोटो समयमै राष्ट्रियस्तरका बैंक मध्ये अब्बल र उत्कृष्ट बन्न सफल भएको छ । बैंकको चुक्तापुँजी ९ अर्ब नाघेसँगै बैंकले वाणिज्य स्तरको बैंक बन्ने प्रक्रिया थालेको छ ।