समाचार
खुमा अर्याल फाउण्डेसनको स्थापना दिवसमा स्वास्थ्य शिविर, ७ सय भन्दा धेरै लाभान्वित
रेडियो आँधीखोला,
वालिङ ६ मंसिर ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाले बृहत् स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रम गरी सातौ स्थापना दिवस मनाएको छ । फाउन्डेसनले स्याङ्जाको चापाकोट नगरपालिका ४ स्थित मल्याङ्कोट स्वास्थ्यचौकी दार्सिङमा चापाकोट नगरपालिकाको समन्वय, गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर गरि शुक्रबार आफ्नो स्थापना दिवस मनाएको हो ।
शिविरबाट ७ सय २७ जना स्थानिय बासिन्दाहरु लाभान्वित भएको फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो। विशेषगरी चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४, र ५, त्यस्तैगरी बिरुवा गाउपालिका ६ र हरिनाश गाउपालिका ५ का बासिन्दाहरु लाभान्वित भएका छन् ।
शिविरमा मुटु रोग, पेट, छाती, सुगर, रेडियोलोजि, नाक कान, घाँटी, स्त्रीरोग, हाडजोर्नी, बाथ तथा छाला रोग, नशा रोग, दन्त रोग, बाल रोग लगायतका बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै, जटिल समस्या भएका बिरामीहरुका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ भने रिफर गरिएका बिरामीहरुका लागि औषधिमा ५ प्रतिशत र सेवामा २० प्रतिशत सम्म छुट दिइने जनाइएको छ । शिविरमा महिलाहरुको पाठेघरको मुखको स्क्रिनिङ,् भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इको, इ सि जि तथा प्रयोगशाला सेवा समेत उपलव्ध रहेको थियो । कार्यक्रममा ८ पिन्ट रगत संकलन भएको थियो ।
फाउन्डेसन विगत सात वर्ष देखि सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । हरेक वर्ष फाउन्डेसनले स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गर्दै अएको छ। शिविरको उद्घाटनका अवसरमा चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण ईश्वरले फाउन्डेसनले चापाकोट नगरपालिकामा आएर स्थानिय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ उद्यमी तथा फाउण्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले सबैको साथ र सहयोगले सामाजिक कार्यमा जुट्नको लागि थप हौसला र प्रेरणा मिलिरहेको बताउनुभयो ।