समाचार
बेमौसमी वर्षाका कारण यो वर्ष धानसहित अन्य बालीको उत्पादनमा कमी आउने
मंसिर १७, यस वर्ष विभिन्न समयको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति पुग्दा धानसहित अन्य बालीको उत्पादनमा कमी आउने भएको छ । बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्क/विवरण सङ्कलन तथा विश्लेषणको लागि गठन भएको समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हालै प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार बेमौसमी वर्षाबाट मुख्यगरी प्रभावित पाँच वटा प्रदेशमा प्रभावित कूल क्षेत्रफल १५ हजार ४ सय ९९ हेक्टरमा विभिन्न कृषि उत्पादन प्रमुख बाली धानसहित उखु, तरकारी र फलफूलको उत्पादनमा एक लाख २७ हजार ३ सय ८३ मेट्रिक टन घटी हुने अनुमान छ ।
झन्डै तीन अर्ब ५४ करोड ६१ लाख चार हजारको आर्थिक क्षति पुर्याएको अनुमान गरिएको छ । जसमा मधेश प्रदेशमा सबैभन्दा बढी तीन अर्ब २२ करोड ४७ लाख १९ हजारको आर्थिक नोक्सानी भएको देखिन्छ ।
क्षतिका हिसाबले मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । मधेश प्रदेशको आठ वटै जिल्लामा धानबालीमा क्षति भएको छ भने तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन् । कोशी प्रदेशमा ३६ करोड ८३ लाख ८९ हजार बराबरको क्षति भएको छ । जसमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् ।
बागमतीमा दुई करोड चार लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको समितिका संयोजक तथा कृषि मन्त्रालयका सहसचिव जगनाथ तिवारीले जानकारी दिनुभयो । समितिले बाढी पहिरोबाट प्रभावित साना किसानको उत्थानका लागि पशुपन्छीपालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने सुझाव पनि दिएको छ ।