अहिले तरंगमा

केहि छिनमा

समाचार

१९ करोडमा १३२ योजना निर्माण गरिने

 
वालिङ, १९ मंसिर । 
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाले झण्डै १९ करोडको लागतमा १३२ योजना निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा १८ करोड ८१ लाख ५० हजारको लागतमा साना र ठूला गरी १३२ वटा योजना निर्माण गरिने भएको हो । 
 
जिल्लाकै ठूलो आयोजनाको रुपमा दुई करोड ६ लाखको लागतमा आँधीखोला, पुतलीबजार, भीरकोट र वालिङ नगरक्षेत्रमा आँधीखोला नियन्त्रणको योजना संचालन हुनेछ । एक करोडको लागतमा जिल्लाको दोस्रो ठूलो आयोजनाका रुपमा चापाकोटटार सिँचाइ आयोजना र ४० लाखको लागतमा ज्याग्दीखोला–बाह्रबिसे सिँचाइ आयोजना निर्माण गरिने भएको कार्यालयले जनाएको छ । 
 
कार्यालयका अनुसार वालिङ क्षेत्रको उदियाचौर सिँचाइ आयोजनालाई २५ लाख, डुम्रीकोट–अर्चलखोला मियाले र बायखोला–सियाले एकीकृत सिँचाइ आयोजना २४÷२४ लाखको लागतमा निर्माण गरिने छ । फेदीखोलाको सेतीखोला–स्थानेचौर सिँचाइलाई २४ लाख ५० हजार, आँधीखोला गाउँपालिकाको सम्धीखोला–बुढीकुलो आयोजनालाई २४ लाख र गल्याङ नगरपालिकाको छहरा–क्यादी र बृहत कुरुङचे सिँचाइ आयोजना २२ लाख ५० हजार दरको लागतमा निर्माण हुनेछ ।
 
जिल्लामा १५ लाखदेखि २० लाखको लागतमा २८ वटा सिँचाइका आयोजना सञ्चालन हुनेछ । त्यस्तै १० लाखदेखि १५ लाखसम्मका १६, ६ लाखदेखि १० लाखसम्मका ४१ र ५ लाख भन्दा कमको लागतमा ३७ वटा गरी झण्डै १९ करोडको लागतमा १३२ आयोजना संचालन हुने जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो ।
 
‘करिब १९ करोडको लागतमा निर्माण हुने १३२ आयोजनामध्ये अधिकांश क्रमागत सिँचाइ आयोजना छन् ।’ प्रमुख इन्जिनियर आचार्यले भन्नुभयो, ‘आयोजनामा विनियोजित ठूला बजेटबाट आँधीखोला नदी नियन्त्रण र सिँचाइ कुलोको मर्मत तथा सम्भार गरिनेछ ।’ विनियोजन बजेटले निर्माण हुने योजनामध्ये धेरै आयोजनाहरु कार्यान्वयनको चरणमै पु¥याएको आचार्यले बताउनुभयो ।
 
विनियोजन बजेट कार्यान्वयनमा कार्यालयले सक्रियता देखाएको छ । अधिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षमा वित्तीय र भौतिक प्रगति बढि हासिल गर्नेतर्फ काम भइरहेको कार्यालयले उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित २७ करोड ९९ लाख ९० हजारमा २५ करोड ५० लाख ८६ हजार खर्च गर्न सफल कार्यालयले ९१ दशमलब १० प्रतिशत वित्तीय प्रगति र ९२ दशमलब ८९ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो ।
 
गएको वर्षमा १९४ हेक्टर क्षेत्रफल सिँचाइ कुलाको स्तरोन्नति, ८१ हेक्टर क्षेत्रफल सिँचाइ नविकरण र पूनस्र्थापना कार्यक्रम, ४८० मिटर आँधीखोला तटबन्ध निर्माण गरिएको कार्यालयका इन्जिनियर सुनिल केसीले बताउनुभयो । त्यसैगरी २६ दशमलब ४९ किलोमिटर पक्की कुलो निर्माण गरिएको छ भने २७९ कृषक कुलो सुधार गरिएको इन्जिनियर केसीले बताउनुभयो ।
 
जिल्लामा मुख्यबाली उत्पादनले ठूला फाँट मानिएका ठूलीबेशि, लामागे, सातुपसल वयरघारी, पकान, वालिङ, मिर्मि, जिमुहा, बिरुवा, मग्याम र चापाकोट क्षेत्रमन सिँचाइ योजनाहरु प्राथमिकतामा राखेर काम भइरहेको छ । खेती योग्य ठूला फाँटसँगै साना फाँटहरुमा सिँचाइ सुविधा विस्तारमा नयाँ कुला निर्माण र स्तरोन्नतीको काम गर्दै आएको कार्यालयले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...