समाचार
एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
वालिङ, २ पौष ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–३ को नमुना क्लब पाख्रीबोटले न्यानो कपडा वितरण गरेको छ । क्लबले बिचारी चौतारामा रहेका अन्धाअन्धी प्रकाश मावि, राष्ट्रिय मावि, पाख्रीबोट आधारभूत विद्यालय, विपि स्मृति आधारभूत विद्यालय, साउनेटारी आधारभूत विद्यालय र कमल जैसी बाल विकास केन्द्रका ११२ जना विद्यार्थीलाई न्यानो कपडा ट्रायाक सुट वितरण गरेको हो ।
विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै गाउपालिकाका अध्यक्ष विश्व पौडेलले युवाहरुको राम्रो काम भएको यस्ता सामाजिक काम सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले समाजिक क्षेत्रमा काम गर्ने पालिकाको समेत सधैँ सहयोग रहने बताउनुभयो । क्लबले आफैँ र स्थानीय समाजसेवीसँग आर्थिक सङ्कलन गरेर एक लाख बराबरको न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले बताउनुभयो ।