समाचार
जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा मंसिर महिनाको कार्यविवरण सार्वजनिक
रेडियो आँधीखोला
वालिङ, ३ पौष ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंसिर महिनाको कार्यविवरण सार्वजानिक गरेको छ । कार्यालय मंसिर महिनाभर कार्यालयबाट भएका गतिविधिहरुको विवरण सार्वजानिक गरेको हो । मंसिर महिनामा अपराध सम्बन्धी ९ वटा मुद्धा दर्ता भएकोमा ६ जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मंसिर महिनामा मात्रै २२ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको छ भने २१ महिना ३ दिन कैद भुक्तानका लागी उनीहरु कारागार चलान भएका छन् । त्यस्तै जरिवाना असुल गर्न बाँकी रहेकाहरुबाट ५१ लख ७८ हजार १२२ रुपैँया असुल गरिएको छ ।
त्यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ३ वटा मुद्धाहरु दर्ता भएका छन् भने गएको महिनामा ५ जना मानिस हराएकोमा ४ जना फेला परेका छन् । त्यसै गरी ३ वटा मुद्धा घरेलु हिंसा सम्बन्धी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै ८ वटा ठाडो उजुरीतर्फ निवेदन दिएकोमा ति सबै निवेदनको फछ्यौट भएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १ उजुरीको पनि फछ्यौट गरिएको प्रहरीले जनाएको छ । गएको महिनामा ३ जना लागूऔषधसहित पक्राउ परेका थिए भने ३ जना पुरुषले आत्महत्या गरेका थिए ।
त्यसै गरी प्रहरीले नियमित चेकिङ अन्र्तगत पिकेट १७४, चेकिङ २०३, लामो दुरीतर्फ ४ र छोटो दुरीतर्फ ७८३ तथा ग्रामिण गस्ती १२० वटा गरी १ हजार २८४ पटक चेकजाँच गरिएको छ । त्यसैगरी तिव्र गतिका कारण गत महिनामा ३ वटा सामान्य खालका दुर्घटना भएका थिए । चेकजाँचका क्रममा गत महिनामा ९ लाख २४ हजार ५०० रुपैँया राजस्व संकलन भएको छ । त्यसैगरी प्रहरीले ६ राउण्ड अवैध गोलीगठ्ठा बरामद गरेको थियो भने २० हजारको मुल्यको भन्सार छलिका सामान समेत प्रहरीले बरामद गरेको छ ।
मंसिर महिनामा ५ वटा आगलागीका घटनाहरु घटेका थिए । त्यस्तै प्राकृतिक सम्पदा दोहन गरेका १० ट्याक्टर र १ ट्रिपरबाट १ लाख ५० हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरीले सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रहरीले संचालन गरेको समुदाय तथा विद्यालय केन्द्रित सचेतना कार्यक्रमबाट ८ हजार ८७२ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
त्यसैगरी प्रहरी कार्यालयबाट गरिएको नागरिकता, हतियार नविकरण जस्ता मुचुल्काहरु ६४ वटा बनाईएको छ भने प्रहरीको हटलाईन नम्बरमा ४८९ वटा कल प्राप्त भएको छ भने नागरिक सहायता कक्षबाट ५५८ जनाले सेवा लिएका थिए ।