समाचार
सुन्तला खेति बन्यो लालप्रसादको पेन्सन
रेडियो आँधीखोला,
वालिङ १७ पुस ।
आजिवन यातायात क्षेत्रमा काम गर्नुभएका भीरकोट ७ लोलुंगाका ७२ वर्षीय लालप्रसाद कोईरालाको पेन्सन सुन्तला खेति बनेको छ । १७ वर्षको उमेरदेखि नै सहचालक, चालक, साहु हुँदै ६० वर्षसम्म यातायात क्षेत्रमा काम गर्नुभएका कोईरालालाई अहिले सुन्तला खेतिले पेन्सन दिएको छ । यातायातमा लामो समय काम गर्नुभएका कोईरालले तत्कालिन समयमा पनि फुर्सनको समयमा सुन्तला खेति गर्दै आउनुभएको थियो । विगत २५ वर्षदेखि नै कोईरालाले व्यवसायिक सुन्तलासंगै यातायात क्षेत्रमा पनि काम गर्दै आउनुभएको हो । ४३ वर्ष यातायात क्षेत्रमा काम गरेपनि विगत २५ वर्षदेखि गर्दै आएको व्यवसायिक सुन्तला खेति नै अहिले बुढेसकालमा सहारा बनेको कोईरालाले बताउनुभयो ।
उमेरले ७२ वर्षपुगेपनि कोईराला निकै फुर्तिलो र मिजासिलो देखिनुहुन्छ । कोईरालाको सुन्तला बगानमा ४५० बोटहरु छन् । ति मध्ये ग्राफ्टिङ गरेका बोटमा फलेका सुन्तला भने मंसिरमै विक्रि गरेर ३ लाख आर्जन गर्नुभएको छ । ग्राफ्टिङ सुन्तलाका विरुवाहरुले सानैमा फल दिन्छन र छिटो तयार हुन्छ । पुसको पन्ध्र कटिसक्दा स्याङ्जाका धेरैजसो कृषकले भने सुन्तला विक्रि गरेर भ्याईसकेपछि बोटलाई मल समेत दिईसकेका छन् । लालप्रसादले भने पुसदेखि माघसम्म विक्रि गर्दै आउनुभएको छ । गतवर्ष ९ लाखको सुन्तला विक्रि गर्नुभएका कोईरालाले यो वर्ष भने १६ लाखको विक्रि हुने अनुमान गर्नुभएको छ ।
गतवर्ष मौसम प्रतिकुल, रोगकिरा जस्ता कारणले सुन्तला उत्पादन राम्रो भएको थिएन भने यो वर्ष सुन्तला बाक्लो र दाना समेत राम्रो भएकाले उत्पादन बढेको छ । कोईरालाले सुन्तला गोडमेल, मल व्यवस्थापन सबै काम कामदार खोजेर गर्दै आउनुभएको छ । खर्च कटाएर बचेको पैसा कोईरालाको बुढेसकालको पेन्सन बनेको उहाँ बताउनुहुन्छ । कोईराला जस्तै लोलुंगाका १५ घरधुरी व्यवसायिक सुन्तला खेतिमै निर्भर छन् । लोलुंगा गाउँ यतिबेला सुन्तलाले पहेँलपुर देखिन्छ । पहेलपुँर सुन्तलाले गाउँको सौन्दर्य बढाउनका साथै स्थानीयलाई आर्थिक रुपमा शसक्त बनाएको छ।